‘नेकपा विवादमा कांग्रेसले तत्काल निर्णय गर्दैन’

  Sampatti News

February 28, 2021

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल निर्णय नगर्ने बताए । नेकपा विवादका कारण देशमा सुरु भएको नयाँ राजनीतिक समिकरणमा कांग्रेस निर्णायक अवस्थामा देखिएको अवस्थामा महामन्त्री डा. कोइरालाले कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताए ।

हेटौंडामा रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा नेकपाको ओली र दाहाल–नेपाल दुवैको पक्षमा नरहेको प्रष्ट पारे। ‘अहिले कांग्रेस कुनै पनि पक्षमा छैन । अब सदन कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै रहेको छ,’ उनले कांग्रेसले संसदमा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्ने उल्लेख गरे ।

कोइरालाले विश्वबाट पलायन भइसकेका कम्युनिष्ट नेपालमा नेपाली कांग्रेसकै साहारामा अस्तित्वमा आएको समेत दाबी गर्नुभयो । त्यस्तै, कोइरालाले अबको ध्यान कांग्रेसले आफ्नो पार्टीको महाधिवेशनमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । ‘पार्टी सुदृढ बनाएर महाधिवेशनमार्फत् नेतृत्व परिवर्तन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो,’ उनको भनाइ छ । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति:February 28, 2021