प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव लैजान प्रचण्ड–नेपाललाई,कांग्रेस र जसपाको साथ

  Sampatti News

March 3, 2021

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव लगाउनमा काँग्रेस र जनता समाजवादी पार्टी नेपालले नेकपा प्रचण्ड–नेपाल समूहलाई सघाउने संकेत देखाएको छ । पहिलाको प्रश्ताव र्फिता लिएर प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव सहित ओलीलाई नयाँ अविस्वासको प्रस्ताव लैजाने तयारी गरेका हुन् । सोही प्रचण्ड–नेपालको तयारीमा जसपा र कांग्रेस सहयोगका लागि सकरात्मक देखिएपछि प्रचण्ड समूहले त्यसअनुसारको तयारी थालेको जनाएको छ । जसपा र कांग्रेसले सरकार बनाउन तत्कालै सहयोग गर्न नसक्न जनाउँदै अविश्वासको प्रस्तावमा भने सहयोग गर्ने जनाएका छन् ।

प्रचण्डहरूले प्रधानमन्त्रीमाथि लगाउने अविश्वासको प्रस्तावमा सहयोग गर्नुपर्ने र त्यसरी सहयोग गरेपछि मात्र पार्टी विभाजन हुनक्ने जसपाको स्रोतले जनाएको छ । स्रोतले भन्यो ‘प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव नलगेसम्म अहिलेको अवस्था यथास्थितिमा चलिरहन्छ । पार्टी अन्त्यमा गएर मिल्न पनि सक्छ । त्यसैले यो पार्टी फुट्नुमा जसपा नेपाललाई मात्र होइन काँग्रेसलाई पनि फाइदा छ ।’

जसपा नेपालको हिजोदेखि शुरु भएको प्रचार विभागको प्रशिक्षण कार्यक्रममा समेत सुरु गरेको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी सरकारमा नजान सक्ने तर काँग्रेस, नेकपा र जसपाको गठबन्धन बन्न सक्ने धारणा राखेका थिए । आफ्ना पार्टी निकट पत्रकारहरुलाई उनले भनेका थिए, ‘काँग्रेस, जसपा र नेकपा बीचमा गठबन्धन बनाएर देशको नेतृत्व गर्नेछौँ ।’

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा अहिले एउटै पार्टी रहेको बताउँदै त्यो विषय स्पष्ट नभएसम्म सरकारमा सहकार्य नहुने बताउँदै आएका छन् । उनले जसपा नेपाल सरकार नजाने बताएका हुन् । उनले भने ‘अहिलेसम्म नेकपा दुईतिहाइ बहुमतको सरकार रहेको छ, त्यसमा हाम्रो के काम? काँग्रेस पनि त्यो सरकारमा जाँदैन, र जानु पनि हुँदैन । नेकपा अहिले एउटै पार्टी हो, यो सरकारमा पनि छ र सडकमा पनि छ, कुन कुन पार्टी हो त्यसको त्यो स्पष्ट नभएसम्म सरकारमा सहकार्य हुँदैन, यद्यपि, अविश्वासको प्रस्तावको बारेमा भने सोच्न सकिन्छ । ’
यसो त उनले मंगलबार कैलालीमा अविश्वासको प्रस्ताव बारे पार्टीमा अहिले कुनै छलफल भएको नभएको र अविश्वासको प्रस्ताव पेस भएपछि त्यसबारे छलफल गर्ने बताएका थिए ।

यता काँग्रेसले पनि अविस्वासको प्रश्तावलाई भने सहयोग गर्न सकिने जनाएको छ । काँग्रेसका नेता चिनकाजी श्रेष्ठले आफ्नो विचारमा वैधानिक रुपमा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव लग्नै नसक्ने तर्क समेत गरेका छन् । संसदीय दलको नेता फेरेर मात्र अविस्वासको प्रस्ताव लग्न सकिने अन्यथा आफ्नै पार्टीको सांसदले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई कसरी अविश्वासको प्रस्ताव लान सकिन्छ भन्ने उनको तर्क रहेको छ ।

उनको मोटामोटि धारण भनेको जसपाको जस्तो नै हो । अविश्वासको प्रस्ताव आएपछि त्यसको बारेमा सल्लाह गर्ने तर त्यसअघि नेकपा आफैमा स्पष्ट हुनुपर्ने उनको भनाई छ । उनले भने ‘अहिले हामी उफ्रेर प्रचण्ड–माधवलाई साथ दियौँ र भोलि गएर वहाँहरु पुनः ओलीसँग नै मिल्नुभयो भने के अवस्था हुन्छ ? त्यसैले पहिलो कुरा नेकपा स्पष्ट हुनुपर्छ ।’

यसो त अविस्वासको प्रस्ताव लैजानेमा कांग्रेस र जसपा सकरात्क देखिएसँगै नेकपा प्रचण्ड–नेपाल समूहले पार्टीको बैठक बोलाएको छ । आज दिउँसो १ बजे पेरिसडाँडामा केन्द्रीय कमिटीको बैठक बस्दैछ, त्यसबाट हरेक कुराको छिनोफानो हुने बताइएको छ ।

प्रकाशित मिति:March 3, 2021