ओलीले बोलायनन् बैठक

  Sampatti News

March 11, 2021

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि माधव नेपाल समूह असन्तुष्ट बनेको छ । सर्वोच्चको फैसलापछि पूर्व नेकपा एमाले र माओवादी पूर्व हैसियतमा पुगे पनि एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन ढिला गरेपछि नेपाल समूहले लागातार आफ्नो समूहको बैठक राख्दै आएको छ । बुधबार केन्द्रीय समिति सदस्यहरुबीच छलफल गरेको माधव पक्षले बिहीबार स्थायी समिति सदस्यहरुबीच छलफल गरेको छ ।

‘नेकपा एकता हुन नसक्ने र एमाले माओवादी अलगअलग हुने सर्वोच्चको फैसला तितो भएपनि त्यो स्थितिमा नेकपा एमालेलाई एकतावद्ध गरेर विधि, प्रणाली र पद्दतिबाट कसरी अघि बढ्ने, हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यस सम्बन्धमा के गर्ने भन्नेमा छलफल गर्न यथासिघ्र बैठक बोलाउनुपर्ने, छलफल होला भन्ने अपेक्षा गरेका थियौँ ।’

‘त्यो नभएपछि यति ठुलो नेकपा त हामीले गुमायौ, फेरि एमालेको शक्ति पनि गुमाउनुपर्ने त होइन भन्नेमा हामीलाई चिन्ता लागेको छ’, स्थायी समिति सदस्य भिम रावलले बिहीबारको छलफल पछि भने,सर्वोच्चको फैसलासँग अमिल्दा र कतिपय स्थानमा गुण्डागर्दी समेत बढेका छन् त्यस्ता गतिविधि बन्द हुनुपर्छ ।’

नयाँ परिस्थितिमा नयाँ सरकार गठनको चर्चा समेत भइरहेका बेला पार्टीमा छलफल गर्दै नेकपा एमालेलाई एकतावद्ध भएर अघि बढाउन पार्टी कमिटिको बैठक जरुरी भएको नेता रावलले बताए । उनले नेकपा एमाले पुन विभाजन हुने कुराको कल्पना समेत गर्न नसकिने बताए ।

प्रकाशित मिति:March 11, 2021