गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

  Sampatti News

April 15, 2021

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथवीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार गण्डकी प्रदेश सभाका सभामुखसमक्ष अविश्वास प्रस्ताव पेस गर्नुभएको छ ।
अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । गण्डकी प्रदेशसभामा एमालेका २७, काँग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
प्रतिपक्ष दल नेपाली काँग्रेसको अगुवाइमा अविश्वासको प्रस्ताव पेश हुदै छ भन्ने जानकारी पाएपछि प्रदेश सरकारले बुधबार राती १२ बजेदेखि सातौं संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । चैत २५ बाट सुरु भएको संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखबाट सचिवालयलाई पत्र रातारात पठाएर अन्त्य गरिएको थियो ।
सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरेपछि सरकारले संसद अधिबेशननै अन्त्य गरेपछि आजै तीन दलको बैठक बसेर छलफल गरेपछि अविस्वास प्रस्ताव दर्ता गरिएको हो ।
प्रदेशसभाका ६० सांसदमध्ये मुख्यमन्त्री गुरुङको पार्टी एमालेका पक्षमा २७ सांसद मात्र छन् । स्वतन्त्रमा मनाङ ‘ख’ बाट निर्वाचित दिपक मनाङेले यस अघि गुरुङ नेतृत्वको सरकारलाई समर्थन गरेको भएपनि अब, उनलाई समर्थन नगर्ने बताएका छन् ।

प्रकाशित मिति:April 15, 2021