प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिदै

  Sampatti News

September 29, 2021

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने भएका हुन् ।

बुधबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गरेको छ ।

प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहका अनुसार असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत समेत लिने गरेका हुन् ।

‘असोज गते प्रदेशसभा बैठक आह्वान गरिएको छ‚’ उनले भने‚ ‘यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनु हुन्छ।’

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने हुन्छ ।

उपधारा २ बमोजिम पेस भएको प्रस्ताव प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री पदबाट मुक्त हुनेछ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिनभन्दा बढी भइसकेको अवस्था रहेको छ ।

अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उनीसँग स्पष्ट बहुमत रहेको छ।

सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमाले रहने छन् ।

लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताएका छन्।

१०४ सदस्यीय प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९‚ एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ जना गरी जम्मा ८० जना सांसदले मुख्यमन्त्री राउतलाई समर्थन गरेका छन्।

दल विभाजन प्रक्रियाका सम्बन्धमा कुन मितिलाई आधार मान्ने भन्नेबारे अन्योल देखिएकाले मुख्यमन्त्री राउतले कहिलेसम्ममा विश्वासको मत लिनुपर्ने हो भन्नेबारे टुङ्गो लाग्न सकेको थिएन ।

विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विषयमा आफूले कानुनी परामर्श लिइरहेको बताउदै आएका मुख्यमन्त्री राउतले अहिले आएर विश्वासको मत लिने भएका हुन् ।

प्रकाशित मिति:September 29, 2021