बाढी पीडितको विद्यालयमा बसोबास

  Sampatti News

October 24, 2021

टीकापुर-कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ ।

कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् ।

बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

विद्यालयमा आश्रय लिएर बसिरहेकाहरु घर कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योलमा छन् ।

जानकी गाउँपालिका–३ मुक्तकमैया बस्तीका चन्टु थारूको घर अहिले छैन ।

हालै भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बस्ती डुबानमा परेपछि चौधरीको घर त्यही बाढीमा मिसियो ।

बाढीमा घर गुमाएका चौधरीको घरमा रहेका अन्नपात, लुगाकपडासहित सबै सम्पत्ति बग्यो ।

जीवनभरि कमाएको सबै पानीमा बगेपछि चौधरीसहित त्यहाँका केही मुक्तकमैया बालमुक्ति आधारभूत विद्यालयमा बसोबास गरिरहेका छन् ।

विद्यालयमा बसिरहनुभएका चौधरी नजिकै रहेको घरतिर फर्केर हेर्दा निकै भक्कानिनुहुन्छ ।

“घरतिर हेर्छु, घर नै छैन, दुःख गरेर जोडेको सबै सामान बग्यो”, उहाँ भन्नुहुन्छ, “छ दिन भयो विद्यालयमा बसेको ।

यसरी बसेर कति दिन टर्छ । घर बचेकाहरु घर सफा गर्न थालेका छन् ।

स्थानीय सरकारले राहत दिने भनेको छ । घर भएकाहरु त फर्केलान, हामी कहाँ जाउला ?”

चन्टुजस्तै सुस्मिता थारूको घर पनि बाढीले भत्काएर पूर्णरूपमा नष्ट भएको छ । उहाँ पनि घर नै नरहेपछि अब कहाँ बस्ने भन्ने चिन्तामा हुनुहुन्छ ।

“आँखै अगाडि बाढीले सबै बगायो, घरभित्रका केही सामान पनि सार्न सकिएन”, सुस्मिताले भन्नुभयो, “दैव पनि हामीजस्ता गरिबलाई नै विपत्तिमा पार्ने रहेछ ।

गरिबीमा बाँचेका हामी अब घरै नरहे कहाँ बसौँला ?”

बाढीले बस्तीमा १८ परिवारका घर रहेनन् ।

ती परिवारले आँखा अगाडि घर बाढीमा मिसिएको देखिरहे तर आफ्नो केही सामान पनि जोगाउन पाएनन् ।

यसरी विद्यालयमा बसेका सयौँ नागरिकलाई पालिकाले साँझ बिहान दुई छाक खाना खुवाइरहेका छन् ।

जिल्लामा बाढीका कारण सयौँ परिवारले घर गुमाएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन् ।

टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिकाका उच्च स्थानमा रहेका विद्यालय यतिखेर बाढी प्रभावितले भरिएका छन् ।

पालिका र सङ्घसंस्थाले सहकार्य गरेर विद्यालयमा आश्रय लिइरहेकालाई खाना खुवाइरहेका छन् । टीकापुरमा सयौँ परिवार विद्यालयमा बसिरहेका छन् ।

टीकापुरको तटीय क्षेत्र वडा नं ८ मा बाढीले बढी क्षति पु¥याएको छ । वडा नं ८ पूरै प्रभावित भएकाले त्यहाँका विस्थापित परिवारलाई राहत तथा उद्धारका कार्यमा पालिका जुटेको विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले बताउनुभयो ।

“हामीले विपद् व्यवस्थापन समितिको बैठक बसेर मापदण्ड बनाएर राहतका कार्यक्रम ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “बाढीले ठूलो क्षति पुर्‍याएकाले राहत तथा उद्धारका कार्यमा सबै मिलेर काम थालिएको छ ।”

सङ्घसंस्थाको सहयोगमा पानी, चिउरा र चाउचाउ वितरण भइरहेका छन् ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी पालिकाले तथ्याङ्क सङ्कलन र क्षतिको विवरण सङ्कलन गरिरहेकाले केही दिनमै राहतका कार्यक्रम ल्याइने बताउनुभयो ।

“सरकार साथमा छ भोकै कसैले बस्नु नपरोस् भन्ने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हामीले सहयोगी सङ्घसंस्थालाई समेत सहकार्य गर्न आग्रह गरेका छौँ । क्षति हेरेर सहयोग हुनेछ ।”

प्रकाशित मिति:October 24, 2021