सडकबाट राजीनामा माग्दैमा राजीनामा दिन्न: प्रधानन्यायाधीश जबरा

  Sampatti News

October 26, 2021

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसैको दबाब र प्रभावमा आएर आफूले राजीनामा नदिने बताएका छन् ।

प्रधानन्यायाधीश राणाले बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन् ।

संवैधानिक व्यवस्था अनुसार आफू प्रधानन्यायाधीश बनेको बताउदै राणाले मेरो बर्हिगमन संबिधान अनुसारै हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो ।’

उनले कसैको दवाव र प्रभावमा परेर पद नछोड्ने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘न्यायपालिका लथालिंग पारेर म जान्नँ ।’

विवादमा घेरिएर आलोचनाको केन्द्रमा आएका प्रधानन्यायाधीश राणाको राजीनामा माग सर्वोच्च बारले गरिसकेको छ ।

यस्तै सर्वोच्च अदालतका अरु न्यायाधीशहरुले मंगलबार सामूहिक रुपमा भेट गरी राजीनामाको माग गर्ने तयारी गरेका बेला प्रधानन्यायाधीशको यस्तो अडान आएको हो ।

प्रधानन्यायाधीश राणाले संवैधानिक व्यवस्था अनुसार नियुक्त भएकाले आफू पदबाट बाहिरिने बाटो पनि संवैधानिक नै हुनु पर्ने बताएर महाअभियोगको सामना गर्न तयार रहेको संकेत समेत गरेका छन् ।

प्रकाशित मिति:October 26, 2021