१४ मंसिरमा विश्वासको मत लिदै कर्णालीका मुख्यमन्त्री

  Sampatti News

November 19, 2021

१४ मंसिरमा विश्वासको मत लिदै कर्णालीका मुख्यमन्त्री

सुर्खेत-मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहीको विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ मा कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको छ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ ।

कर्णाली प्रदेशसभा सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीका अनुसार प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको छ ।

१६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका भएका शाहीले लामो समयसम्म पनि मन्त्रिमण्डलको पूर्णता दिन सकेका छैनन् ।

मुख्यमन्त्री भएको १४औँ दिनमा उनले नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए।

शाही मन्त्री नियुक्त भए पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको सत्ता गठबन्धन रहेको कर्णाली प्रदेश सरकारमा माओवादीले चार र एकीकृत समाजवादीले तीन मन्त्रालय माग गरिरहेका छन्।

मुख्यमन्त्री शाहीले कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालय आफूसँगै राख्न खोजेका छन् भने माओवादीले सबैभन्दा ठूलो दल भएका कारणले चार मन्त्रालय माग गरिरहेको छ।

एकीकृत समाजवादीले विगतको सम्झौताअनुसार तीन मन्त्रालय पाउनुपर्ने माग गरेको छ।

माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बनेका हुन् ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांगे्रसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।

१४ मंसिरमा विश्वासको मत लिदै कर्णालीका मुख्यमन्त्री

प्रकाशित मिति:November 19, 2021