राजमार्गमा लुटपाट गर्न खोज्ने पक्राउ

  Sampatti News

January 5, 2022

राजमार्गमा लुटपाट गर्न खोज्ने पक्राउ

राँझा-पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् ।

अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न उनीहरु बा १४ च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।

प्रकाशित मिति:January 5, 2022