काठमाडौँ महानगरपालिकाकाे बजेट संशोधन

  Sampatti News

January 18, 2022

काठमाडौँ महानगरपालिकाकाे बजेट संशोधन

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ ।

कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित कोषबाट कार्यान्वयन हुने रु १६ अर्ब आठ करोड ७० लाख १२ हजार र बाह्य कोषबाट कार्यान्वयन हुने रु दुई अर्ब ८७ करोड सात लाख गरी कामपाले चालु आर्थिक वर्षमा कूल बजेट रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार विनियोजन गरिएको थियो ।

संशोधनबाट ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमका लागि रु एक करोड ५० लाख थप गरिएको छ ।

यसैगरी, फोहोरमैला प्रभावित क्षेत्रका स्थानीयवासीसँग समय समयमा भएका सहमति कार्यान्वयन गर्ने क्रममा यसअघि छुट भएको शिक्षक दरबन्दी अनुदानसहित प्रभावित क्षेत्रबाट माग भएर आएका योजनालाई संशोधनमा समेटिएको छ ।

“जुन शीर्षकमा काम गर्ने लक्ष्य राखिएको थियो, विभिन्न कारणले त्यो कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने भएपछि सम्बन्धित विभाग र वडाको मागबमोजिम शीर्षक परिवर्तन गरिएको हो”, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिइएको १० प्रतिशत छुटको सुविधालाई चैत मसान्तसम्म दिने निर्णय गरेको पनि जनाइएको छ ।

आर्थिक ऐन २०७८ को दफा २ अनुसार लाग्ने करमा दिइएको छुटको अवधि बढाइएको हो ।

काठमाडौँ महानगरपालिकाकाे बजेट संशोधन

प्रकाशित मिति:January 18, 2022