सात करोड वक्यौता असुल

  Sampatti News

February 8, 2022

काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु सात करोड वक्यौता रकम असुल गरेको छ ।

गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् ।

तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन् ।

“आउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन”, कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले भन्नुभयो ।

कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ ।

धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन् ।

तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर सङ्कलन गरिरहेको हो ।

सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ ।

नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ ।

डा अधिकारी भन्नुहुन्छ, “सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।”

प्रकाशित मिति:February 8, 2022