मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

  Sampatti News

February 20, 2022

मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

गलकोट-नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ ।

जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिएपनि अझै हुनसकेको छैन ।

छ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायी विरुद्ध चरणबद्ध आन्दोलनसमेत गर्दै आएका छन् ।

गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ ।

गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत बिहुँमा दुई किलोमिटर सडक कालोपत्र गरेर काम छाडेको निर्माण कम्पनीले फागुनबाट काम थालेको छ ।

ट्र्याक खोलेको २४ वर्षपछि सडक कालोपत्र हुने आश पलाएको छ ।

अहिले जिल्ला सदरमुकामको खहरे, मूलपानी क्षेत्रमा बेस विच्छ्याउने कार्य भइरहेको छ ।

उपल्लो खण्डको बिहुँमा कालोपत्रका लागि ग्राभेल विच्छ्याउने कार्य भइरहेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजना पर्वत कार्यालयका प्रमुख इञ्जिनीयर नारायणदत्त भण्डारीका अनुसार असारपछि निर्माण व्यवसायीलाई निरन्तरको ताकेता पछि निर्माण कम्पनीले निर्माणलाई तीव्रता दिन थालेको बताउनुभयो ।

“अहिले घोडाँबाधेदेखि बागलुङ बजारसम्मको सडकमा कालोपत्र गर्नु अघिका काम भइरहेको छ ।

सवबेश विच्छ्याउने, ग्याबिन भर्ने र कल्र्भट बनाउने काम तल्लो खण्डमा भइरहेको छ”, उहाँले भन्नुभयो, “उपल्लो खण्डमा भने अधिकांश सडक ग्राभेल भइरहेकोछ, निर्माणको काम लगभग सकिएको छ, असारअघि कालोपत्र सक्ने गरी आयोजना लागिपरेको छ ।”

यो राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत-सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी-एससिएफ-इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए ।

सुरु भएको छ वर्षसम्म ६० प्रतिशतमात्रै प्रगति

तर निर्माण सुरु भएको छ वर्षसम्म ६० प्रतिशतमात्रै प्रगति भएको छ ।

बिहुँ खण्डमा चार किलोमिटर सडक एक पटक कालोपत्र गरिएको, फेरि डकल गर्ने तयारी छ ।

६ किलोमिटर सडकमा बेस विच्छ्याइसकेको दुई किलोमिटर सडकमा पूर्वाधारको काम भइरहेको छ ।

बिहुँ घोडाबाँधेको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि रामकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

“सुरुमा कच्चापदार्थ नै भएन, त्यसपछि कोरोना महामारी, अहिले कालोपत्र गर्न मौसमले साथ दिएको छैन ।

अन्य पूर्वाधारको काम भइरहेको छ, सके चैतसम्म नसके असारसम्म कालोपत्र गरेरै छोड्छौं”, उहाँले भन्नुभयो ।

“अहिले कामलाई तीव्रता दिएका छौं, केही परिणाम आउनेगरी क्रसर उद्योग निरन्तर चलिरहेको छ ।”

यस्तै मूलपानी बोक्सेसम्म ग्राभेलको काम भइरहेको र खहरेमा बेश विच्छ्याउने काम भइरहेको छ ।

चार महिनादेखि ठप्प भएको उपल्लाचौर अझेते सडक खण्डमा अहिले काम भइरहेको सडक निर्माणको जिम्मा पाएका भारत÷सिद्धिसाई कम्पनीले जनाएको छ ।

कूल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ ।

तीमध्ये बागलुङमा २५ किलोमिटरमात्रै सडक कालोपत्र गर्न बाँकी भएको छ ।

बागलुङको लाइफलाइनसँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम स्थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्र भइसकेको छ ।

तर जिल्ला सदरमुकामसँग जोडिएको लोकमार्गको २५ किमि सडक खण्डकालोपत्र नहुँदा यहाँका बासिन्दा मर्कामा परेका छन् ।

मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

प्रकाशित मिति:February 20, 2022