दुई गाउँ प्रहरी सेवाबाट निकालिए

  Sampatti News

March 8, 2022

ऐसेलुखर्क गाउँपालिकामा कार्यरत दुईजना गाउँ प्रहरीलाई सेवाबाट हटाइएको छ ।

विसं २०७६ फागुन १४ गतेदेखि कार्यरत दुई गाउँ प्रहरीले कार्यसम्पादनमा चित्त बुझ्दो काम नगरेकाले उनीहरुलाई सेवाबाट हटाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिनुभयो ।

तीन गाउँ प्रहरी भर्ना गरिएको उक्त गाउँपालिकामा हाल एक जनामात्रै कार्यरत छन् ।

दुई हटाइएसँगै रिक्त बनेको दरबन्दीमा नयाँ गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकरात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चार गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ ।

गाउँ प्रहरीले हाल कार्यालयमा हुने भीडभाड नियन्त्रण गर्ने, ऐसेलुखर्क बजारका सडक पेटीमा सामान राखेर बिक्री गर्न तथा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउनमा रोक लगाउनेलगायतका काम गर्दै आएको छ ।

यस्तै बजारमा हुने अनियमितता नियन्त्रण गर्दै बजारलाई अनुशासित राख्नका लागि गाउँ प्रहरीले माइकिङ गर्ने, सिट्ठी बजाउँदै हिँड्नेलगायतका भूमिका निर्वाह गरिरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँ प्रहरीलाई कार्यालय सहयोगी स्वसरह सेवा–सुविधा पाउने गरी भर्ना गरिएको उहाँले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा ऐसेलखर्क गाउँपालिकाले जिल्लामै पहिलोपटक तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसारको नीतिलाई कार्यान्वयन गर्दै ऐसेलुखर्क गाउँपालिकाले नागरिकको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न गाउँ प्रहरी भर्ना गरेको हो ।

गाउँपालिकाले नियुक्त गरेको गाउँ प्रहरीले नेपाल प्रहरीसँगको सहकार्यमा उक्त गाउँपालिकाको कार्यालयका साथै सातवटै वडाको सुरक्षामा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति:March 8, 2022