चितवनमा २७ दल दर्ता

  Sampatti News

March 23, 2022

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो ।

आयोगले तोकेको समयमा जिल्लामा रहेका २७ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

कार्कीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवण बुझाउनु नपर्ने भएकाले २७ दलले चिह्नका लागि विवरण बुझाएका हुन् ।

उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आयोगलाई आग्रह गरेको छ ।

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लामा १६१ मतदानस्थल र ३७६ मतदान केन्द्र थिए ।

अहिले मतदान केन्द्र थप गरी ४६१ पु¥याउन लागिएको कार्कीले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा २०५, रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५७, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ मतदान केन्द्र बनाउन कार्यालयले आयोगलाई सिफारिस गरेको छ ।

जिल्लामा तीन लाख ९८ हजार ७७१ मतदाता छन् । अझै केही थपघट हुनसक्ने कार्कीले बताउनुभयो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख १३ हजार तीन मतदाता थिए ।

मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थप गर्न लागिएको हो ।

निर्वाचनको तयारीस्वरुप कार्यालयले यही चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ ।

निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्न थालेको छ ।

एउटा मतदान केन्द्रमा सातदेखि आठ जनाको दरले कर्मचारी परिचालन गरिने छ ।

प्रकाशित मिति:March 23, 2022