विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ : मन्त्री आले

  Sampatti News

April 1, 2022

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ, भौतिक संरचनालगायत काम चाँडै गरिने छ ।”

मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिनुभयो ।

विराटनगरबाट अन्य क्षेत्रमा हवाईसेवा सञ्चालन गर्न पहल भइरहेको उहाँले बताउनुभयो ।

क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि रु १७ करोड आवश्यक पर्ने मन्त्री आलेले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “विराटनगर क्षेत्रीय स्तरको विमानस्थल बनाउन आवश्यक छ ।”

विराटनगर विमानस्थलमा रहेका कतिपय संरचना जीर्ण भएका र केही पुनःनिर्माण गर्नुपर्ने देखिएकाले त्यसका लागि बोलपत्र आह्वान भइसकेको मन्त्री आलेले जानकारी दिनुभयो ।

प्रकाशित मिति:April 1, 2022