मधेस प्रदेशमा सत्तारुढ दल तालमेल गर्ने तयारीमा

  Sampatti News

April 3, 2022

सत्तारूढ गठबन्ध आबद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप सत्तारूढ दलको मधेस प्रदेश स्तरीय बैठक आज बस्न लागेको छ ।

चुनावी तालमेलका विषयमा छलफल गर्न जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा आज बैठक बस्न लागेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिनुभयो ।

बैठकमा सत्ता गठबन्धनमा आबद्ध जसपासहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष तथा केही शीर्षनेता सहभागी हुने अध्यक्ष यादवले बताउनुभयो ।

बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय सत्ता गठबन्धनले गरिसकेको छ ।

सो निर्णयपछि मधेस प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलले छलफल अगाडि बढाएको छ ।

मधेस प्रदेशमा एक महानगरपालिकासहित १३६ स्थानीय तह छन् ।

प्रकाशित मिति:April 3, 2022