भरतपुरमा स्मार्ट सडक बत्ती जडान

  Sampatti News

April 20, 2022

काठमाडौं – भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आउनुभएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताउनुभयो । भरतपुर महानगर र आयोजनाको सहकार्यमा सडक बत्ती जडानको काम सुरु गरिएको हो ।

अहिले सडक बत्तीका लागि खम्बा गाड्न फाउण्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । एक हजार १९० वटा फाउण्डेसन निर्माण गर्नुपर्नेमा हालसम्म अधिकांश निर्माणको काम सम्पन्न भएको र ५०० खम्बा गाढीसकेको उहाँको भनाइ छ ।

मङ्गलपुर बजार क्षेत्र र बाइपास रोड क्षेत्रमा काम बाँकी रहेको उहाँले बताउनुभयो । बाटो र घरका कारण समस्या आएको भए पनि केही समयमा समस्या समाधान गरी निर्माण र जडानको काम सम्पन्न गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यी सबै काम सकेर बत्ती जडानको काम सक्दै गर्दा वैशाखको अन्तिम वा जेठको दोस्रो साता लाग्छ ।” यही वैशाख १ गते भरतपुर महानगरपालिकाको चौबिसकोठीमा स्मार्ट सडक बत्ती बालेर सुभारम्भ गरिएको छ ।

यस अभियानअन्तर्गत ७८ दशमलव १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९३३ वटा बत्ती जडान गरिनेछ । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको साझेदारीमा बत्ती जडान गरिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार ३०० मा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभीले काम गरिरहेका छन् ।

उहाँले भन्नुभयो, “सुरक्षा र सुन्दरताको हिसाबले भरतपुरलाई नेपालकै उत्कृष्ट शहर बनाउन उज्यालो शहर अभियान सहयोगी बन्नेछ ।” भरतपुरका मुख्य शहरी क्षेत्र जिल्ला प्रशासन चोक, हाकिमचोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, सहिदचोक, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला चोक र मालपोत चोकमा हाइमास्ट बत्ती जडान गरिँदैछ ।

बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलीमिली बनाइने योजना छ । लामो समयदेखिको गृहकार्य र पहल कदमीका कारण काम हुन सकेको नगर प्रमुख दाहालले बताउनुभयो ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले अन्य प्रमुख सडककोसमेत सर्भे गरेर प्राधिकरणमा पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले शहर सुन्दरतासँगै अपराध नियन्त्रणमा सहयोग पुग्छ ।

यस अभियानअन्तर्गतको बत्ती जडान योजनामा महानगरपालिकाको १० प्रतिशत साझेदारी छ । उज्यालो कार्यक्रमसँगै रातका समयमा हुने सवारी दुर्घटना र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्छ । ”

हाकिम चोक–गीतानगर–जगतपुर सडकखण्डको १८ दशमलव ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलव ८ किलोमिटर सडकखण्डमा ५६९, मङ्गलपुरदेखि शुक्रनगरसम्मको २२ दशमलव १३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलव ४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडकबत्ती जडान हुनेछ ।

दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलव ८६ किलोमिटर सडकखण्डमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलव १७ किलोमिटर सडकखण्डमा ५० बत्ती र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलव २६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।

प्रकाशित मिति:April 20, 2022