नेकपा एसद्वारा उपमहानगरपालिकामा महिला नेतृलाई मेयरको उम्मेदवार

  Sampatti News

April 26, 2022

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार नेकपा एसकी नेतृ मिनाकुमारी लामा भएकी छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उनलाई मेयरको उम्मेदवार बनाईएको हो ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीको पदाधिकारी बैठकले लामालाई उठाउने निर्णय गरेको हो ।

भागबन्डाको आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् ।

हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष लामाको नाम समेत सिफारिस भएको थियो ।

एसले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट टुंगो लगाएको हो ।

गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा टिकट पाउने भएपछि प्रतिक्रिया दिँदै लामाले आफूले जित्ने दाबी गरिन् ।

‘म उपमेयर हुँदा नै धेरै महत्त्वपूर्ण काम गरिसकेको छु ।

राम्रो अनुभव बटुलिसकेको छु,’ उनले भनिन्, ‘अब मलाई मेयरमा अवसर आएको छ । गठबन्धनले मलाई पूर्ण रूपमा समर्थन गर्नेछ ।’

लामाले यसअघि हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उपमेयर जितेकी थिइन् ।

एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेकी हुन् ।

प्रकाशित मिति:April 26, 2022