हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

  Sampatti News

May 9, 2022

काठमाडौं – क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको छ । सो सुविधान सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो ।

त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ । सो समेतगरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ । त्यसमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ । सो दुर्घटनामा परेका अरु कम्तीमा पनि ८४ जना घाइते छन् । ती घाइतेहरु पनि अधिकांश जलेका बताइएको छ ।

होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि सो टिभीले जनाएको छ ।

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युवाली अधिकारीले बताएका छन् । तर अब भने मानिसहरुलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति:May 9, 2022