पोखरामा कांग्रेसका बागी उम्मेदवार नेकपा एसका धनराजकै समर्थनमा

  Sampatti News

May 9, 2022

पोखरा-नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले आफ्नाे बागी उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कार्कीले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका हुन् ।

निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै सकिए पनि कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका छन् ।

सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छिन् ।

कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको र साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गरेको बताएका छन् ।

उनले मेयर पदमा आफ्नो उम्मेदवारी निष्क्रिय भएको पनि बताएका छन् ।

प्रकाशित मिति:May 9, 2022