दुई लाख ६० हजार बढी सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा

  Sampatti News

May 12, 2022

काठमाडौँ – यसपटकको निर्वाचनमा दुई लाख ६० हजार सुरक्षा जनशक्तिले निर्वाचनको सुरक्षा दिँदैछन् ।

त्यसमा एक लाख म्यादी प्रहरी छन् । नेपाल प्रहरीका ६५ हजार बढी परिचारित छन् भने नेपाली सेनाबाट ७१ हजार सहभागी छन् । त्यस्तै सशस्त्र प्रहरीका ३२ हजार बढी परिचालित भएका छन् ।

मतदानस्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृहमन्त्रालयले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल जुनसुकै मतदानस्थलमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी सेनाले सुरक्षा रणनीति बनाएको जानकारी दिनुभएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी यसपाली आपाराधिक समूहको सक्रियता शून्य रहेकाले निर्वाचन सुरक्षा चुनौती कम रहेको तर दल र तिनका प्रतिनिधिबीच हुनसक्ने सम्भावित घटनाप्रति प्रहरी सचेत रहेको बताउनुभयो ।

उहाँले यसपालीको निर्वाचनको माहोल शान्तिपूर्ण नै रहेको बताउनुभयो । उहाँका अनुसार विभिन्न जिल्लामा छिटफुट घटना भएको छ । प्रहरीले मतदान केन्द्रमा १८ जनासम्म प्रहरी परिचालन गरिएको बताउनुभयो ।

नेपालका चार सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना) ले निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गरी लागू गरेका छन् । चारै निकायले आ–आफ्नै छुट्ट छुट्टै सुरक्षा रणनीति समेत बनाएका छन् ।

प्रकाशित मिति:May 12, 2022