रौतहटका ४ स्थानीय तहमा एक्लै लडेको एकीकृत समाजवादीको पूरा प्यानल विजयी

  Sampatti News

May 24, 2022

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटका ४ स्थानीय तहमा सो पार्टीले जित हासिल गरेको छ । बौधिमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेसँगै रौतहटमा नेकपा एकीकृत समाजवादीले जितेको पालिकाको संख्या चार पुगेको हो ।

यो पालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादवले ४ हजार ८१० मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार तथा बौधिमाईका निवर्तमान प्रमुख राजीवरंजन यादवले ४ हजार ६२४ मत प्राप्त गरे । त्यसैगरी उपमेयरमा नेकपा एकीकृत समाजवादीकै प्रमिलादेवी जयसवाल निर्वाचित भएकी छन् ।

उनले ४ हजार ८९४ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी सैवुन खातुनले ४ हजार ४८१ मत प्राप्त गरिन् ।

यसअघि नेकपा एकीकृत समाजवादीले गौर नगरपालिका, राजदेवी नगरपालिका र बृन्दावन नगरपालिकामा जित हासिल गरिसकेका थिए ।
गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा शम्भु साह, राजदेवी नगरपालिकाको प्रमुखमा भिखारी यादव र बृन्दावन नगरपालिका प्रमुखमा विनोद पटेल निर्वाचित भएका छन् ।

जिल्लाभर आठ स्थान बिजय हुने सम्भावना रहेपनी कतिपय नगरपालिकामा झिनोमतले पराजित हुनुपरेको समाजवादीले बताएको छ।

प्रकाशित मिति:May 24, 2022