सहमतिकै आधारमा प्रदेशको नाम राख्ने

  Sampatti News Online

July 19, 2022


प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारी बोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गर्नुभएको छ । उहाँले साउन २० गतेभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गर्नुभयो । किरात राई यायोक्खाद्वारा आज यहाँ आयोजित अनुसन्धानमूलक प्राज्ञिक पुस्तक ‘किरात सभ्यता’को लोकार्पण गर्दै यो सबैभन्दा पुरानो सभ्यता भएकाले यसको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने धारणा राख्नुभएको छ ।

 सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि यही साउन ६ गते सर्वदलीय बैठकको आयोजना गरी सहजीकरण गर्ने बताउनुभयो । उहाँले दलहरुले देश र जनताका लागि दलीय स्वार्थभन्दा माथि उठी नामकरणमा सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक विकासमन्त्री राजन राईले प्रदेशको नाम किरात राख्नु  समय सान्दर्भिक रहेको छ भन्दै यसको अगाडि तथा पछाडि राखिने अन्य नामका सम्बन्धमा सकारात्मक पहल गर्ने विचार राख्नुभयो । 

 खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले  प्रदेशको नाम दल एवं नेताको प्रतिबद्धताअनुसार किरात हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका सचेतक सूर्यमा राईले नेकां पहिचान विरोधी नरहेको प्रष्ट पार्दै प्रदेशको नामका सम्बन्धमा सम्पूर्ण आएका नामका सम्बन्धमा गम्भीररुपमा छलफल एवं समन्वयकारी भूमिका खेली सहमति कायम गरिने विश्वास व्यक्त गर्नुभयो । 

प्रकाशित मिति:July 19, 2022