दलबलसहित निस्किएः अशोक राई

  Sampatti News Online

August 19, 2022

२ भदौ, काठमाडौं । पूर्वमन्त्री हेमराज राई १० वर्षपछि पुरानै घर नेकपा एमाले फर्किएका छन् । जनता समाजवादी पार्टी (जसपा) छोड्ने ठूलै समूहको नेतृत्व गरेका राईलाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले स्वागत गरेको हो ।

जसपाका कार्यकारिणी सदस्य हेमराज, संघीय परिषद अध्यक्ष अशोक राई निकट शीर्ष नेता थिए । तर जसपा सिद्धान्तहीन दिशातिर लागेको आरोप लगाउँदै उनी एमालेमै फर्किएको छ । २०४८ र २०५१ मा भोजपुर–२ बाट सांसद जितेका हेमराज २०५५ मा उद्योगमन्त्री थिए ।
एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईलाई साथ दिएर ०६९ मा पार्टी छोड्नेहरूमा हेमराज गनिएकै नेताभित्र पर्थे । त्यसैले उनको फर्काइलाई एमालेले महत्वका साथ हेरेको छ ।

‘अशोक राईहरुले जुन एजेण्डा लिएर पार्टी छोड्नुभएको थियो, त्यो एजेण्डा समाजले स्वीकारेन,’ एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ भन्छन्, ‘धेरै नेताहरु फर्किनुभयो । बाँकी नेता–कार्यकर्ता पनि एमालेमै आउनुहुन्छ ।’
संविधान निर्माणका क्रममा एकल जातीय पहिचानमा आधारित संघीयताको विपक्षमा एमाले उभिएपछि अशोक राई नेतृत्वमा पार्टीभित्र बलियो प्रभाव राख्ने जनजाति नेताहरू त्यसबेला अलग भएका थिए । त्यही समूहमा उभिएका हेमराज राई ०४९ सालमै एमाले केन्द्रीय सदस्य थिए । सानो र छरिटो कमिटी प्रणालीमा रहेको एमालेमा त्यतिबेला केन्द्रीय सदस्य बन्नु सजिलो थिएन ।

तर संविधान निर्माणका क्रममा असन्तुष्टि जनाउँदै एमालेबाट अलग भएका हेमराज कुनै बेला चर्चामा रहेका भूराज राईहरू समेत लिएर एमाले फर्किएका छन् । महेन्द्र क्याम्पस र डिग्री क्याम्पसको स्ववियु सभापति जितेर चर्चा कमाएका भूराज ०५४ मा विराटनगर नगरको उपमेयर थिए । ‘लोकतन्त्र सुदृढ बनाउन सिद्धान्तनिष्ठ ध्रुवीकरण जरुरी छ, त्यसका लागि एमालेकै विचार ठीक छ’, पार्टी प्रवेशपछि हेमराजले भने ।

एक्लिदै अशोक

संविधानका अन्तर्वस्तुप्रति पार्टीभित्र देखिएको फरक मतलाई निषेध गरिएको भन्दै अशोक राईले एमाले छोडेर संघीय समाजवादी पार्टी गठन गर्दा हेमराजसँगै बलियो राजनीतिक पृष्ठभूमि भएकै नेताहरुले साथ दिएका थिए । हेमराज राई, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रिजवान अन्सारी, बीरबहादुर लामा, अजम्बर काङमाङ राई, रकम चेम्जोङ, रणध्वज कन्दङवा, केशव स्थापितहरूले त्यसबेला अशोक राईसँगै विद्रोह गरे ।
केन्द्रदेखि स्थानीय तहसम्मका जनजाति नेताहरुले पार्टी छोडेकाले त्यसबेला एमालेले जनजाति विरोधी पार्टीको आरोप खेप्नु परेको थियो । तर अहिले उनीहरुमध्ये अधिकांश नेता–कार्यकर्ताले अशोक राईलाई छोडिसके । ‘अशोक राईसँग पार्टीभित्र पहिलो व्यक्ति हुने गुण छैन’ अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका अजम्बर काङमाङ भन्छन्, ‘विनम्र बोल्नु हुन्छ, तर जोखिम उठाउन नसक्ने र घाटाको राजनीति नगर्ने स्वभाव छ ।’ जोखिम उठाएर पार्टी नेतृत्व गर्ने भन्दा पनि औपचारिक भागमै अल्मलिने स्वभावले अशोक राई एक्लिदै गएको उनी बताउँछन् ।

एमाले छोड्दै गर्दा अजम्बर आफैंमा प्रभावशाली युवा नेता थिए । एमालेको युवा संगठनका अध्यक्ष भइसकेका अजम्बर एमाले छोडिरहँदा पार्टीकै केन्द्रीय सदस्य थिए । तर उनी अशोक राईसँग धेरै समय बसेनन् । २०७४ मा माओवादी केन्द्रमा प्रवेश गरे ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि नै अशोक राई नेतृत्वको पार्टी परित्याग शुरु भएको थियो । त्यो चुनावमा संघीय समाजवादीले समानुपातिक तर्फ पाँच सिट जितेपनि प्रत्यक्षतर्फ कतै जित्न सकेन । त्यसपछि त राई आफैंले ०७४ को चुनाव अगाडि नै उपेन्द्र यादवसँग पार्टी एकता गरे ।
अहिले अशोक उपेन्द्रसँगै छन्, तर उनलाई साथ दिने नेताहरुले भने एकपछि अर्कोगरी छोड्ने क्रम रोकिएको छैन । कतिपय एमालेमै फर्किएका छन् भने कतिपयले अरू दल रोजे । विजय सुब्बा, केशव स्थापित लगायतले एमालेमै फर्किएर लाभको पद लिइसकेको हो । २०४८ मै तेह्रथुमबाट सांसद जितेका विजय सुब्बा अहिले एमाले निर्वाचन आयोगका अध्यक्ष छन् । पार्टीमा फर्किएपछि सुब्बालाई ०७४ मा एमालेले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनायो ।

केशव स्थापित गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा एमालेबाट काठमाडौं महानगरको मेयर पदका उम्मेदवार थिए । मेयर पराजित भएपनि ०७४ मा प्रदेश सांसद रहँदै बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री भए । स्थापित युवा संघका संस्थापक महासचिव हुन् ।

अशोक राईलाई साथ दिदै एमाले छोडेका रिजवान अन्सारी अहिले अलग्गै पार्टीका अध्यक्ष छन् । उपेन्द्र यादवलाई पार्टी बुझाएको भन्दै उनले नेपाल संघीय समाजवादी पार्टी खोले । पूर्व गृहराज्यमन्त्री अन्सारीको भूगोल र एमालेभित्र बलियो प्रभाव थियो ।

अन्सारीसँगै, बीरबहादुर लामाले पनि अशोक छोडे । नख्खु जेल ब्रेकका अभियन्ता लामा ०५४ मै मकवानपुर जिविस सभापति थिए । एमालेबाटै २०६४ मा मकवानपुर–३ बाट संविधानसभा सदस्य जितेका लामाको निधन भइसकेको छ । उनी पहिले एमालेबाट विद्रोह गरे, त्यसपछि अशोकसँग असन्तुष्टि जनाउँदै रिजवानलाई साथ दिन पुगेका थिए ।

एमाले छोडेका शीर्ष नेतामा अहिले अशोकसँग राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, रणध्वज कन्दङवा, सुशिला श्रेष्ठ लगायत बाँकी छन् । तर उपेन्द्र यादवसँग एउटै पार्टीमा रहेकाले अशोक राई सत्तारुढ नेता छन् भने आफूलाई साथ दिने राजेन्द्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन् ।

अजम्बर काङमाङ, अशोक राई अहिले पार्टीभित्र भागबण्डामा पर्ने लाभको पद लिने ठाउँमा सीमित हुन पुगेको बताउँछन् । ‘राजेन्द्र श्रेष्ठको मन्त्री जोगिने भएपछि पार्टी विभाजनमा पनि उपेन्द्रसँगै उभिनुभयो’ उनी भन्छन्, ‘आउने चुनावमा गठबन्धनबाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । पत्नी (सुशिला श्रेष्ठ) लाई समानुपातिक सूचीमा राखिहाल्नुहुन्छ ।’

प्रकाशित मिति:August 19, 2022