वैदेशिक रोजगारीमा गएकामध्ये गत वर्ष १ हजार ४७९ मृत्यु

  Sampatti News Online

August 19, 2022

काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये अहिलेसम्मकै धेरैको मृत्यु भएका छन् ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा ठुलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमिमा भएको थियो । सो वर्ष वैदेशिक रोजगारीमा भएकाहरूमध्ये १ हजार २४३ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूको एकै वर्ष यति धेरैको मृत्यु यसअघि भएको थिएन ।

त्यसभन्दा अघि आर्थिक वर्ष २०७१/७२ मा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढीको मृत्यु भएको थियो । उक्त वर्ष एक हजार ६ जना नेपाली कामदारको मृत्यु खाडी राष्ट्र तथा मलेसियामा भएको थियो ।

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेमध्ये १० हजार ९३२ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । सो अवधिमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका थिए ।

गत आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै सबैभन्दा ठुलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत आर्थिक वर्ष ६ लाख ३० हजार ९७ जना श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति:August 19, 2022