एसिया कपमा पाकिस्तानमाथि भारतको रोमान्चक जित

  Sampatti News Online

August 30, 2022

नयाँ दिल्ली, (एजेन्सी) । हार्दिक पान्ड्याको सानदार प्रदर्शनमा भारतले टी–२० एसिया कपमा पाकिस्तानमाथि ५ विकेटको रोमान्चक जित हात पारेका छन् ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९।४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । भारतका रविन्द्र जडेजाले २९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । हार्दिक १७ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे । भारतलाई अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिएको थियो । स्पिनर मोहम्मद नवाजले पहिलो बलमा रविन्द्र जडेजालाई बोल्ड गरे । दोस्रो बलमा दीनेश कार्तिकले हार्दिकलाई स्ट्राइक दिए । तेस्रो बलमा नवाजले डट राखे । हार्दिकले छक्का प्रहार गर्दै खेल जिताए ।

भारतका ओपनर केएल राहुल दोस्रो बलमै बोल्ड आउट भए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर नसिम शाहले राहुललाई बोल्ड गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाए । दास्रो विकेटका लागि विराट कोहली र रोहितले ४९ रनको साझेदारी गरेका थिए । रोहित स्पिनर नवाजको बलमा ठूलो सट खेल्ने धुनमा मिडअफमा इफ्तिखार अहमदबाट १२ रनमा क्याच भए । रोहितले १८ बल खेल्दा १ छक्का हाने ।

नवाजकै दशौं ओभरको पहिलो बलमा विराट लङअफमा इफ्तिखारबाट ३५ रनमा क्याच आउट भए । कोहलीले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १५औं ओभरको दोस्रो बलमा नसिमले सूर्यकुमार यादवलाई १८ रनमा बोल्ड आउट गरे । पाकिस्तानका सादब खानले ४ ओभरमा १९ रन खर्चिए । डेब्यू खेल खेलेका नसिमले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिँदै सानदार प्रदर्शन गरे । नवाजले ३।४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि, दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९।५ ओभरमा १ सय ४७ रनमा अल आउट भएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । ओपनर तथा कप्तान बाबर आजम तेस्रो ओभरमै आउट भएपछि पाकिस्तान सुरुवातमै दबाबमा परेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमारको बाउन्सर बलमा एज लागेर बाबर आजम १० रनमा अर्शदीपसिंहबाट क्याच आउट भए ।
आवेश खानको छैटौं ओभरको पाँचौं बलमा फखार जमान १० रनमा विकेटकिपर कार्तिकबाट क्याच आउट भए । फखार एज लागेर अम्पायरले आउट नदिँदै आफैं पेभिलिएनतर्फ लागेका थिए ।

तेस्रो विकेटका लागि इफ्तिखार र रिजवानले ४५ रनको साझेदारी गरेका थिए । हार्दिकको बलमा इफ्तिखार २८ रनमा कार्तिकबाट क्याच भए । उनले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे । हार्दिकको १५ औं ओभरको पहिलो बलमा रिजवान थर्डम्यानमा आवेश खानबाट क्याच आउट भए । एक बलपछि खुशदील शाह दुई रनमा क्याच आउट भए । भुवनेश्वरले विस्फोटक ब्याटर आसिफ अलीलाई ९ रनमा सूर्यकुमारबाट क्याच गराएपछि ठूलो इनिङको सम्भावना सकिएको थियो । तल्लोक्रमका शहनवाज ६ बलमा २ छक्कासहित १६ रनमा आउट भए ।

भारतका भुवनेश्वरले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । हार्दिकले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अर्शदीपले ३।५ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । आवेशले एक विकेट लिए । समूह ‘ए’ मा भारत, पाकिस्तान र हङकङ छन् । समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो । भारतले अब बुधबार हङकङसँग खेल्नेछ । पाकिस्तानले शुक्रबार हङकङसँग खेल्नेछ । शीर्ष दुई दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । सुपरफोरका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

प्रकाशित मिति:August 30, 2022