बुटवलबाट हराएका तीन युवा भारतमा भेटिए

  Sampatti News Online

September 13, 2022

बुटवल, २६ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ । बुटवल उपमहानगरपालिका ११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत नपुगी बेपत्ता भएका थिए ।

शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि सुरु भएको खोज कार्यमा प्रहरीको संलग्नताले बालकहरू भेटिएको बालक सागरका मामा राजु पन्थीले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको प्रतिक्रिया दिए । उनले भने, “बेपत्ता बालकमध्ये एक जनाको अभिभावकसमक्ष पुगेको र बालकहरू सुरक्षित रहेको जानकारी हामीसँग छ । अन्य २ बालकका अभिभावक जाँदै हुनुहुन्छ । त्यसपछि थप अनुसन्धान सुरु हुन्छ ।”

१५ वर्षीय समीर लम्सालका भान्जा दाई र बुबाले मनग्य आम्दानी र चाहे सोचेको कामको प्रलोभनमा लामो समय देखि पार्ने गरेको खुलेको सागरमा मामा राजु पन्थीले जानकारी दिए । उनका अनुसार प्रदीप पन्थीका परिवारसँग कुरा गर्दा यी तीन बालकलाई भान्जा दाई र समीरका बाबु बुद्धिबहादुर लम्सालले प्रलोभन देखाएको पाइएको बताए । बालकहरूले जान नमानेकोले अचेत बनाएर मुम्बई लगेको बताए ।

उनले भने, “प्रदीपको परिवारसँग भिडियोकलमा कुरा हुँदा परिवारसँग समीरको आफ्नै बुबा र भान्जा दाईले प्रलोभन देखाएको भनेका छन् । हामीहरू भारततर्फ जाँदै छौँ । उता पुगेपछि थप जानकारी दिनेछु ।” यता बालकहरूले विद्यालय जानको लागि देबीनगर बुद्धनगर पुलमा पुगेको समयमा गाडीमा राखेपछि कुनै याद नभएको प्रतिक्रिया दिएको आफन्तले बताएका छन् ।

प्रकाशित मिति:September 13, 2022