संज्ञा पोखरेलको नाम समानुपातिकको सूचीबाट हटाए

  Sampatti News Online

September 22, 2022

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सूचीबाट हटाएका छन् । संज्ञाको नाम गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो ।

उनको नाम कास्की जिल्लाबाट पनि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएको थियो भने गण्डकी प्रदेशले समेत उनको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो । तर असोज ३ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सुचीको नाम बुझाउने बारेमा छलफल भइरहदा पौडेलले छोरी संज्ञाको नाम हटाएका हुन् ।

संज्ञा कास्की क्षेत्र नम्बर १ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन भने अहिले गण्डकी प्रदेश समितिको सदस्य हुन् । उनी गत जेठमा घरको छतबाट चिप्लिएर लडेपछि लामो समय ट्रमा सेन्टरमा उपचार गराएर घरमा थेरापी गराएर आरम गरिरहेकी छन् ।

नेपाली कांग्रेसको समानुपातिकको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा, तथा पार्टीका शीर्ष नेताहरु र आफन्त परेको भनेर आलोचना भइरहेका बेलामा पौडेलले भने आफ्नी छोरी संज्ञाको नाम समानुपातिकको सूचीबाट हटाएका हुन् । पौडेलले गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले असहमति जनाउँदा जनाउँदै पनि छोरी संज्ञाको नाम हटाएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति:September 22, 2022