संविधानको संरक्षकबाट नै खुलेआम संविधान मिच्ने काम भयो : प्रचण्ड

  Sampatti News Online

September 23, 2022

काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका छन् ।

उनले संरक्षकबाट नै जानिबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गरे । अध्यक्ष दाहालले भने, “हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरू, मजदुरहरू, सुकुम्वासीहरू, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरूक गरिराख्ने, सङ्गठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा छ । अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानिबुझी, नजानेर, झुक्किएर भन्ने होइन । जानिबुझी संविधान मिच्ने जो काम भएको छ । यो सामान्य होइन ।”

उनले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको र यो हालसम्म नरोकिएको बताए । उनले आफूहरूले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको औंल्याए ।

यो हजारौँको बलिदानबाट, लाखौँलाख किसानहरूको, मजदुरहरू, उत्पीडितहरूको आन्दोलनबाट प्राप्त भएका उपलब्धि खोस्ने, अपहरण गर्ने षड्यन्त्रकै एउटा कडी रहेको उहाँले बताउनुभयो । जनताले र परिवर्तनकारी शक्तिहरूको एकताले मात्रै, जनताको पहलले मात्रै यो षड्यन्त्र रोकिने दाहालले बताए ।

अध्यक्ष दाहालले भने, “अहिले संविधान खुलेआम मिच्ने जो प्रयास भएको छ, यसलाई पनि हामीले आम जनताको बीचमा गएर कसरी प्रतिगमन फेरि अगाडि आउँदै छ, कसरी प्रतिक्रान्तितिर देशलाई लैजाने षड्यन्त्र भएको छ भन्ने कुरा हामीले आम जनतालाई शिक्षित, जागरूक तुल्याउने र आन्दोलित गरेर मात्रै प्रतिक्रान्तिकारी षड्यन्त्रहरूलाई, प्रतिगामी षड्यन्त्रहरूलाई परास्त गर्न सकिन्छ ।”

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे। विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ । उनले परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति:September 23, 2022