कांग्रेसको समानुपातिकतर्फको सूची सार्वजनिक, क–कसको नाम छ ?

  Sampatti News Online

September 25, 2022

काठमाडौं । सूचीको पहिलो नम्बरमा नेता विमलेन्द्र निधि छन् । महिलाको पहिलो सूचीमा आरजु राणा छिन् । महिलाको दोस्रो नम्बरमा नेतृ मञ्जु खाण छिन् ।

सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवानिकटका नेताहरू धेरै रहेको चर्चा छ ।

बन्दसूचीको ७ नम्बरमा पर्साका चर्चित व्यापारी अनिल रुँगटाको नाम छ । नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ ।

ठगी मुद्दामा मुछिएका मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा परेका छन् । अर्याल गण्डकी मेडिकल कलेजका सञ्चालक हुन् । उनीविरुद्ध ३ वर्षअघि ठगी मुद्दामा अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । पछि उनी सुटुक्क अदालतमा उपस्थित भएर १७ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

नेताद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा छ । निधि र श्रेष्ठ कांग्रेसमा सबैभन्दा अवसर लिने र पाउने नेतामा पर्छन् ।

सह–महामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकको सूचीमा छन् । परियारले दलितका नाममा धेरै अवसर पाउने नेतामा पहिलो नम्बरमा पर्छन् ।

पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा छ । डा.यादव महाधिवेशनमा मधेसी कोटामा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतको नाम पनि समानुपातिकको सूचीमा छ । पूर्वमन्त्री रोमी गौचन थकालीको नाम पनि समानुपातिक सूचीमा रहेको छ ।

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ ।

महामन्त्री गगन थापाका ससुरा डा.केदारनरसिंह केसी पनि समानुपातिक सूचीमा छन् । डा.केदारनरसिंह नेता अर्जुननरसिंह केसीका भाइसमेत हुन् ।

सूचीमा योगेन्द्र चौधरी, कर्मा शेर्पाको नाम पनि छ । कांग्रेस नेता भरत शाहकी पत्नी अनिता ढुंगाना शाहको नाम पनि बन्दसूचीमा राखिएको छ ।

प्रकाशित मिति:September 25, 2022