श्रम मन्त्रालयले अपिल: सरकारी कोटामा बेलायत जाने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस् 

  Sampatti News Online

September 26, 2022

काठमाडौँ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरुन्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो।

श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने भन्दै कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी गर्न भनेका छन्।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले सम्झौता कार्यान्वयनका निम्ति कार्यविधि बनाउने प्रक्रिया भइरहेको बताए। यसमा तेस्रो पक्षको संलग्नता नहुने भन्दै कसैले पैसा लिन खोजे तुरुन्तै विभागमा उजुरी दिन अनुरोध गरे।

बेलायतमा ६ महिनाभित्र नेपालबाट जनशक्ति लैजाने बताएको थियो। पहिलो चरणमा सय जना लैजाने गरी तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ।

बेलायत आउन इच्छुक जनशक्तिसँग पैसा असुल्न काम विभिन्न एजेन्सीले गरेको रिपोर्ट बेलायती पत्रिका द गार्डियनमा प्रकाशित भएको थियो। उक्त रिपोर्टमा बेलायती श्रम विज्ञहरूले नेपाली नर्सहरू बेलायत आउनुअघि नै शोषणमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न बहानामा पैसा उठाउने क्रम नरोकिए नेपालबाट नर्स ल्याउने प्रक्रिया नै रोक्नु पर्ने उनीहरूको चेतावनी छ।

बेलायतमा स्वास्थ्य जनशक्तिको अभाव पूर्तिका लागि त्यहाँको स्वास्थ्य विभाग व्यवस्थित र नैतिक तरिकाले जनशक्ति भर्तीको पक्षमा छ। नेपालसँग भएको सम्झौताअनुसार त्यस योजनामा बेलायत जान चाहने कामदारसँग कुनै पनि अतिरिक्त शुल्क असुल्न पाइने छैन।

प्रकाशित मिति:September 26, 2022