एमाले बनेका पूर्वमाओवादीलाई ओलीको आश्वासन

  Sampatti News Online

September 26, 2022

नेकपा एमालेका अध्यक्ष ओलीले पूर्वमाओवादी खेमाका नेताहरुलाई सकेसम्म प्रदेश वा प्रतिनिधि सभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने र त्यहाँबाट पुरा हुने स्थिति नदेखिएमा समानुपातिक वा राष्ट्रिय सभाबाट भएपनि दोहोर्‍याएर सांसद बनाउने बचन दिएका हुन् ।

तत्कालीन नेकपा विभाजन हुँदा माओवादीबाट सांसद बनेका प्रतिनिधि सभातर्फबाट चार जनासहित सात प्रदेशबाट १४ जना प्रदेश सभा सदस्य एमालेतर्फ प्रवेश गरेका थिए । ती प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रत्यक्ष वा समानुपातिक जसरी भएपनि सांसद बनाउने ओलीले बचन दिएका हुन् । हाल माओवादीबाट एमाले प्रवेश गरेका ३२ जनालाई केन्द्रीय समितिमा समेटिएको छ ।

ती सबै नेताहरुलाई कुनै न कुनै विधिबाट दोहोर्‍याएर भएपनि सांसद बनाउने ओलीले आश्वासन दिएको एक पूर्वमाओवादी नेताले बताए । एकाध नेता बाहेक अधिकाश नेताको जनमत छैन । एमालेकै जनमतमा भर पर्नुपर्ने छ । त्यस्तो हुँदा हामीले प्रत्यक्ष टिकट पाउने सम्भावना कम भयो’, ती नेताले भने, ‘माओवादी हुँदा सांसद भएकालाई पुनःसांसद हुन कठिन भएको अवस्थामा केपी कमरेडले अन्य कुनै विधि खोजेर भएपनि दोहोर्‍याएर सांसद बनाउँछु भन्नु भयो ।’ ओलीले माओवादीमा हुँदा सांसद भएकालाई पुनःसांसद बनाउने आवश्वासन दिएपछि असन्तुष्ट नेताहरु समेत खुसी भएका छन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ आगामी चुनावमा उम्मेदवार नबन्ने उनी निकट एक नेताले बताए । थापाको चुनावी क्षेत्र चितवन २ हो भने त्यहाँबाट उनले चुनाव नलड्ने देखिएको छ । बरु एमालेकै पुराना नेताहरु कृष्णभक्त पोखरेल, विजय सुवेदी, घनश्याम दाहाल लगायत नेताहरु टिकटको दौडमा छन् । उसो त बादललाई चितवन–२ मा स्थानीय नेताहरुले नै उम्मेदवारको रुपमा हेर्न नचाहेको एक नेताको भनाइ छ । ‘बादल दाइ चुनाव लड्न खोज्नु भएको थियो । अरु नेताहरुले मान्नु भएन । उहाँ चुनाव लड्ने इच्छा हुँदाहुँदै पाउनु भएन’, ती नेताले भने । थापा पहिलो संविधान सभा चुनावमा चितवनबाट प्रत्यक्ष निर्वाचित भएका थिए । २०७० सालको चुनावमा वैद्य माओवादीतिर रहेका थापा वहिस्कारमा सहभागी भएका थिए । ०७४ सालको चुनावमा थापा माओवादीबाट चुनाव उठ्न खोजेपनि एमालेकै नेताहरुले छोड्न नमानेपछि रोकिएका थिए । जतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन थियो ।

यस्तै स्थायी समिति सदस्य मणि थापा भने समानुपातिक सूचीमा समेटिएका छन् । आगामी मंसिरमा प्युठानबाट चुनाव लड्न खोजेपनि अर्का नेता सूर्य थापाले सो क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएपछि उनी समानुपातिकमा समेटिएका हुन् ।

भट्टभन्दा रायमाझी र साह ढुक्क

एमाले सचिव लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारी गरेका छन् । २०६४ सालदेखि माओवादीबाट लगातार चुनाव जित्दै आएका भट्ट यो चुनावमा एमालेबाट लड्ने भएका हुन् । भट्टको क्षेत्रमा अरु नेताले दाबी नगर्ने भएकाले उनी टिकट पाउनेमा ढुक्क देखिन्छन् । तर, एमालेबाट पहिलो पटक लड्न लागेका भट्टलाई चुनाव जित्न कठिन हुने बताइएको छ ।

स्थानीय चुनावमा समेत उनको क्षेत्रमा खासै प्रभाव नदेखिएकाले उनलाई चुनाव जित्न सकस पर्ने उनी निकट नेताहरुकै आँकलन छ । यस्तै अर्का सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन् । २०६४ सालदेखि माओवादीबाट लगातार चुनाव जित्दै आएका रायमाझी यो पटक पाँचदलीय गठबन्धनविरुद्ध मैदानमा उत्रिँदैछन् । रायमाझी अर्घाखाँचीमा गठबन्धन भएपनि चुनाव जित्ने दाबी गर्छन् ।

यस्तै स्थायी समिति सदस्य प्रभु साह रौतहट क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने तयारीमा छन् । साहले २०६४ सालदेखि माओवादीबाटै लगातार चुनाव जित्दै आएका थिए । एमालेबाट साहको क्षेत्रमा दाबी गर्ने अरु नेता नभएकाले उनले नै टिकट पाउने देखिन्छ । आगामी चुनावमा गठबन्धन भएपनि नतिजा आफ्नो पक्षमा आउनेमा साह आशावादी छन् । उनी राम्रो जनमत राम्रो भएको दाबी गर्छन् ।

पूर्वमाओवादी छाडेर एमाले बनेकामध्ये भट्टभन्दा रायमाझी र साह चुनाव जित्नेमा ढुक्क देखिन्छ । यस्तै केन्द्रीय सदस्य गौरीशंकर थारु कैलाली क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने तयारी गरेका छन् । सो क्षेत्र थारु समुदायको बाहुल्यता भएकाले उनले नै टिकट पाउने सम्भावना छ ।

प्रकाशित मिति:September 26, 2022