रोनाल्डोको कीर्तिमान सँगै, पोर्चुगलको रोमाञ्चक जित

  Sampatti News Online

November 25, 2022

काठमाडौं । पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२ को जित दर्ता हराउँदै कतार विश्वकप २०२२ मा सुखद सुरुआत गरेका छन् । यसखेलसँगै क्रिस्टियानो रोनाल्डोले विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने कीर्तिमान बनाएको छ ।

रोनाल्डोले सन् २००६ जर्मन विश्वकपदेखि लगातार गोल गरेका छन् । घानाविरुद्ध रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । घानासँगको गोलसँगै विश्वकपमा उनको गोलसंख्या आठ पुगेको छ । रोनाल्डोले एक सय ९२ खेलमा एक सय १८ अन्तर्राष्ट्रिय गरेका छन् ।

दोहास्थित रंगशाला ९७४ मा प्राप्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै ६५औं मिनटमा अग्रता दिलाएका थिए । घानाका कप्तान आन्द्रे आयुले ७३औं मिनेटमा बराबरी गोल गरे ।जोआवो फेलिक्सले ७८औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता २–१ को बनाए ।

त्यसको दुई मिनेट नबित्दै राफेल लियोले गोल गरेका थिए । ओस्मान बुकारीले इन्जुरी समयमा गोल गरेपनि घानाले हार टार्न सकेन । जितसँगै समूह ‘एच’मा पोर्चुगलले तीन अंक जोडेको छ । घाना अंक विहिन छ । दक्षिण कोरिया र उरुग्वेले भने अंक बाँडेका छन् ।

प्रकाशित मिति:November 25, 2022