आर्थिक र सामाजिक विकासमा ज्यापु समुदायको योगदान अनुकरणीय रहेको ‘प्रधानमन्त्री देउवा’

  Sampatti News Online

December 8, 2022

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले नेपालको आर्थिक र सामाजिक विकासमा ज्यापु समुदायको योगदान अनुकरणीय रहेको बताएका हुन्। १९ औं राष्ट्रिय जापु दिवसका अवसरमा काठमाडौंको वषन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कृषि र कला क्षेत्रमा ज्यापु समुदायको महत्वपूर्ण योगदान रहेको बताए।

ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण गर्न सरकारले अक्षय कोष स्थापना गरेको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले यसले केही राहत पुग्ने विश्वास व्यक्त गरेका हुन्।

नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उनको भनाइ छ । आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताए।

उनले नेपाल भौगोलिक रुपमा सानो भएता पनि प्राकृति र सांस्कृति सम्पदाले धनी मुलुक रहेको र संस्कृति र सभ्यतालाई जीवन्त राख्नु साझा दायित्व रहेको बताए।

देउवाले चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गास्ने बताए ।

प्रकाशित मिति:December 8, 2022