नेपाल टी-२० लिगमा पछिल्लो समय देखिएको विवाद बारे बुझ्न आइसिसी प्रतिनिधि नेपालमा

  Sampatti News Online

January 6, 2023

नेपाल टी–२० लिग क्रिकेटमा देखिएको विवादबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि नेपाल आएका छन्। आइसिसी प्रतिनिधिले विवादबारे बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङसँग छलफल गरेको छ।

आइसिसीका एन्ड्रयू इफग्रेभसहितको टिम बुधबार आएको  थियो।

यसअघि आइसिसीका प्रतिनिधिले बुधबार विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिवि मैदानमा गएर निरीक्षण गरेको थियो।

त्यसपछि नेपाल टी-२० का प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो। भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट, अम्पायर र खेलाडीसँग पनि भेट गरेको थियो।

यस्तै क्रिकेट प्रतियोगिताबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दियो।

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको आशङ्कापछि आइसिसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको हो।

विवाद सतहमा आएपछि राखेपले बुधबार सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो।

छानबिन समिति बनाएको जानकारी गराएपछि आइसिसी प्रतिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो।

प्रकाशित मिति:January 6, 2023