सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

  Sampatti News Online

January 16, 2023

मधेस प्रदेश सभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगलबारका लागि तय गरिएको छ । 

आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । 

यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । प्रदेश सभा सचिवालय सचिव यादवले प्रदेश सभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोलि मंगलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताए ।  

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए भने सभामुखमा सत्तागठबन्धनका तर्फबाट एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जंगीलाल रायको उम्मेदवारी दर्ता भएको छ । 

प्रकाशित मिति:January 16, 2023