वामपन्थी एकता प्रयासलाई असफल बनाउने ओलीको दाउ

  Sampatti News Online

January 26, 2023

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ ।

पार्टी एकीकरणपूर्व एक अर्काको दस्तावेज अध्ययनमा लागेका दलहरूबीच सरकारमा सहभागिताको विषय उठाएर ओलीले एकता असफल बनाउन खोजेको टिप्पणी गर्दै एकीकृत समाजवादीका एक नेताले भने– ‘नेकपा एससँग पार्टी एकताका लागि छलफल गरेर दस्तावेज अध्ययनमा लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर शनिबार एमाले अध्यक्ष ओलीले सरकारमा सहभागिताका विषयमा किन छलफल गर्नुभयो ?’ एकीकृत समाजवादीसँगको एकता वार्ताकै कारण जसपालाई सरकारमा सहभागी गराउन नसकिएको ओलीको भनाइ रहेको अध्यक्ष यादवले पार्टी नेताहरूलाई जानकारी गराउनुभएको थियो । ‘सरकारमा सहभागी हुने वातावरण हुँदाहुँदै पनि तपाईंहरू आफैंले बिगार्नुभयो’, ओलीले अध्यक्ष यादवलाई भनेको कुरा उद्धृत गर्दै जसपाका एक नेताले नेपाल समाचारपत्रसँग भने– ‘एकीकृत समाजवादीसँग एकता वार्ताले तपाईंहरूलाई सरकारमा लाने वातावरण बिथोलियो ।’

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत एकीकृत समाजवादीलाई पनि सरकारमा सँगै लिएर जान चाहेको भए पनि ओलीले त्यसमा आपत्ति जनाएपछि प्रचण्ड पछि हट्नुपरेको माओवादी श्रोतको दाबी छ । यद्यपि, प्रचण्ड पार्टी एकीकरणलाई राष्ट्रपति निर्वाचनअगावै पूर्णता दिन कसरतमा रहेको र यसैका लागि प्रचण्डले गत आइतबार पनि नेता माधव नेपालसँग एक्लै कुराकानी गरेको माओवादी नेताहरू बताउँछन् । माओवादीले १२ गते बोलाएको स्थायी कमिटी बैठकले समेत पार्टी एकीकरणका बारेमा छलफल गर्ने बताइएको छ ।

जनता समाजवादी पार्टीले उपराष्ट्रपति वा उपसभामुखमध्ये एक दिन गठबन्धनमा प्रस्ताव राखेको थियो । प्रधानमन्त्रीले जसपालाई सरकारमा सहभागी गराउन चाहे पनि एकीकृत समाजवादीसँगको एकीकरण वार्ताकै कारण एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको उक्त प्रस्ताव अस्वीकार गर्दै आउनुभएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि जसपा सरकारमा जान नहुने शर्त राख्नुभएको छ । यही स्थितिमा जसपा सरकारमा सहभागी नहुने भएपछि एकीकृत समाजवादी र जसपाबीचको एकता वार्ता अघि बढिरहेको बताइएको छ ।

गत मंसिर ४ को निर्वाचनलगत्तै यी तीनवटै दलले एकीकरणको विषयमा संवाद गर्न वार्ता समिति गठन गरेर अघि बढेका थिए । पछिल्लो केही दिनयता यी दलका वार्ता समितिले एकअर्कासँग संवाद अघि बढाएको बताएका छन् । आइतबार माओवादी र एकीकृत समाजवादीका वार्ता समितिबीच दुईपटक संवाद भएको थियो । त्यसअघि शनिबार माओवादी केन्द्रको वार्ता समितिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग समेत छलफल गरेको जनाएको छ । गत २९ पुसमा पनि छलफल गरेका एकीकृत समाजवादी र जसपा नेपालका वार्ता समितिबीच शनिबार पनि छलफल भएको थियो । उक्त छलफलपछि एकीकृत समाजवादीका डा. विजय पौडेल र जसपाका गोविन्द चौधरीलाई १५ दिनभित्र दुवै पार्टीका सबै दस्तावेज अध्ययन गरेर एकीकरणको सैद्धान्तिक अधार खोज्न जिम्मा दिइएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष डा. विजय पौडेलले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार एकीकृत समाजवादीले जसपा नेपाल र माओवादी केन्द्र दुवैसँग समानान्तर रूपमा संवाद अघि बढाएको जनाएको छ ।

माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा अन्य दलहरूसँग संवाद गर्न वार्ता समिति गठन गरेको छ । एकीकृत समाजवादीले महासचिव वेदुराम भुसाल र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा अन्य पार्टीहरूसँग एकीकरणका लागि वार्ता समिति बनाएका छन् । गत संसदीय निर्वाचनमा माओवादीकै चुनाव चिह्नमा भाग लिएको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि गंगा श्रेष्ठको नेतृत्वमा वार्ता तथा संवाद समिति गठन गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमअनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल समाजवादी पार्टीबीच एकीकरणलाई मूर्तरूप दिने प्रयासमा दलहरू लागेको देखिन्छ । यीसँगै बाँकी रहेका सबै वामपन्थी दलहरूलाई समेत सँगै लौजाने प्रयास भइरहेको नेकपा माओवादी केद्रका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक कृष्णबहादुर महराले जानकारी दिनुभयो । एकीकृत समाजवादी, जसपा, विप्लब समूहको नेकपा, नेकपा समाजवादीलगायत ६ वटा वामपन्थी दलहरूसँग पहिलो चरणमा छलफल भइसकेकोे जानकारी दिंदै उहाँले भन्नुभयो– ‘अहिलेसम्मको अवस्थामा सकारात्मक संकेत देखिएको छ । निरन्तर छलफल भइरहेकोले केही समयमा निष्कर्ष निस्कन्छ ।’उहाँले नेपाल समाजवादी पार्टीसँग त नयाँ पार्टीको नामसहितको छलफल निकै अघि बढिसकेको पनि बताउनुभयो ।

माओवादी, एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादी पार्टीबीच एकीकरण भएमा सत्ता समीकरणको शक्तिमा समेत परिवर्तन आउन सक्ने डरले एमालेलाई पोल्न थालेको टिप्पणी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नथा खतिवडाले भन्नुभयो– ‘हामी वामपन्थी एकताका लागि पहिलादेखि नै प्रयासरत थियौं । विविध कारणले ढिला भए पनि एकताका प्रयासमा पछिल्लो समय प्रगतिहरू देखिएका छन् । वामपन्थी प्रगतिशिल शक्तिहरू एक ठाउँ हुँदा एमाले खुम्चने डरले पोलेको होला, त्यसैले नेताहरूलाई ओलीले भड्काउने तरिकाले भेटघाट गर्न थालेको बुझिएको छ । तर, हामी अघि बढिसकेका छौं ।’

उल्लेखित पार्टीहरू एक ठउँमा भए प्रतिनिधि सभामा ५४ सिटको पार्टी बन्नेछ भने राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्नेछ । संघदेखि प्रदेशसभासम्मको शक्ति सन्तुलनमा परिवर्तन आउने खतरालाई संकेत गर्दै ओलीले एकता अवरोध गर्न नेताहरू परिचालन गर्ने रणनीति लिएको एकीकृत समाजवादीका सांसदहरूले आरोप लगाएका छन् ।

प्रकाशित मिति:January 26, 2023