राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने: नेपाली काँग्रेसका महामन्त्री गगन

  Sampatti News Online

January 26, 2023

काठमाडौँ । नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे । 

संविधान र निर्वाचन कानून बाझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, “राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली काँग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।”

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए । “खासगरी नेकपा (माओवादी) केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौँमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।”

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, “त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ” ।

प्रकाशित मिति:January 26, 2023