काँग्रेसको नीति महाधिवेशन वैशाखमा गर्ने

  Sampatti News Online

January 27, 2023

काठमाडौँ । नेपाली काँग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औँ महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि काँग्रेस नीति महाधिवेशनमा जुटेको हो ।

१४ औँ महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । नीति महाधिवेशनमार्फत काँग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री गगन थापाले बताए ।

यही फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउँछन् । पार्टी संगठन व्यवस्थित बनाएपछि नीति महाधिवेशन हुन्छ । वैशाखमा नीति महाधिवेशन गर्ने तयारी भइरहेको छ’, महामन्त्री थापाको भनाइ छ ।

गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर कांग्रेस महाधिवेशन सकिएको थियो । पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि बहस गर्न पाएको थिएन ।

१४ औं महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिलाई नीति र कार्यक्रमको सन्दर्भमा ‘नीति अधिवेशन’ गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

गत साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनका सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले आगामी केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गर्नुपर्ने बनेको थियो । तर प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण नीति अधिवेशन रोकियो ।

आम निर्वाचनबाट केन्द्र र ४ प्रदेशमा पहिलो पार्टी बनेको कांग्रेसलाई प्रतिपक्षमा पुगेपछिमात्रै नीति महाधिवेशन गर्ने फुर्सद मिलेको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा जारी संयुक्त वक्तव्य विज्ञप्तिमा नीति महाधिवेशनले स्थान पाएपछि कांग्रेसमा अनौपचारिक बहस सुरु भएको थियो । अविलम्ब नीति महाधिवेशन गरेर पार्टीको नीति योजना र कार्यक्रम तय गरिने महामन्त्रीद्वयको विज्ञप्तिमा उल्लेख थियो । तर अहिलेसम्म नीति महाधिवेशन गर्ने पार्टीको निकाय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान संयोजकमामात्रै सीमित छ । कांग्रेस सभापति शेरबहादुर देउवाले गत असार १० गते उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको प्रमुखमा मनोनीत गरेका थिए ।

प्रतिष्ठानलाई पार्टीले अंगिकार गर्ने नीति माथिको बहस सुरु गर्ने अधिकार हुन्छ । नीति माथि बहस प्रारम्भ भएसँगै नीति महाधिवेशन गर्ने बाटो खुल्छ । तर, उक्त प्रतिष्ठानले नीति माथिको बहस चलाउन त परको कुरा आफ्नो समितिलाई पूर्णता दिन समेत सकेको छैन । उपसभापति खड्काले सात महिनामसम्म प्रतिष्ठानलाई पूर्णता दिन नसकेका हुन् ।

५१ जनाको प्रतिष्ठान कार्यसमिति रहने विधानमा व्यवस्था छ । सो व्यवस्थाअनुसार पार्टी सभापतिसँगको परामर्शमा प्रतिष्ठान प्रमुखले सदस्यहरु थप्न सक्ने प्रावधान छ । प्रतिष्ठानले पूर्णता नपाएपनि नीति महाधिवेशनका लागि काम भइरहेको प्रतिष्ठान प्रमुख खड्का बताउँछन् ।

नीति अधिवेशनको प्रस्ताव तयार भइसकेको भन्दै उनले आगामी केन्द्रीय समिति बैठकमा पेस हुने बताए ।

‘नीति महाधिवेशनको प्रस्ताव तयार भइसकेको छ । आगामी केन्द्रीय समितिमा त्यो पेस हुन्छ । अब चाँडै नीति महाधिवेशन गर्छौं’, खड्काको भनाइ छ ।

प्रकाशित मिति:January 27, 2023