पाकिस्तानको पेशावरमा शक्तिशाली विस्फोट ५९ को मृत्यु दर्जनौं घाइते

  Sampatti News Online

January 31, 2023

काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुगेका छन् भने १५७ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो । यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु छन् ।

उच्च सुरक्षा प्रवन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको टिप्पणी गरेका छन् । शरीफले आतंकवादविरुद्ध पूरा देश एकजुट रहेको पनि बताएका छन् ।

पेशावरका प्रहरी प्रमुख मोहम्मद एजाज खानले स्थानीय मिडियालाई बताएअनुसार विष्फोटको समयमा उक्त क्षेत्रमा ३०० देखि ४०० प्रहरीहरु रहेको अनुमान छ ।

शुरुमा पाकिस्तानको तालिबानका एक कमाण्डरले घटनाको जिम्मेवारी लिएका थिए । तर त्यसको केहीबेरमै उक्त संगठनले आक्रमणमा संलग्नता नरहेको बताएको छ ।

तालिबानले गत नोभेम्बरमा पाकिस्तानमा युद्धविराम अन्त्य भएको घोषणा गरेको थियो । त्यसयता हिंसाका घटना भइरहेका छन् । गत डिसेम्बरमा पनि पेशावरमै एक प्रहरी स्टेशनमा आक्रमण भएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा प्रहरी, सेना र बम निष्क्रिय पार्ने दलका सदस्यहरू उद्धारमा खटिएका छन्।
पाकिस्तानमा अधिकांश सुन्नी मुस्लिम छन्। नोभेम्बरदेखि पाकिस्तानी तालिबानले सरकारी सेनासँगको युद्धविराम समाप्त गरेसँगै उग्रवादी आक्रमणहरूमा बृद्धि भएको छ।

गत मार्चमा एउटा सिया मस्जिदमा भएको विस्फोटनमा ६४ जना मारिएका थिए।

सन् २०१४ मा सेनाका छोराछोरी पढ्ने विद्यालयमा भएको आक्रमणमा १५० जनाको ज्यान गएको थियो।

पछिल्लो घटनासँगै राजधानी ईश्लामावादमा सुरक्षा सतर्कता बढाइएको छ र उक्त सहर पस्ने र त्यहाँबाट निस्कने बिन्दुहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ।

प्रकाशित मिति:January 31, 2023