११ किलो ९०० ग्राम लागुऔषध चरेशसहित चार जना पक्राउ

  Sampatti News Online

January 31, 2023

काठमाडौँ । कैलालीमा मङ्गलवार दिउँसो धनगढी उपमहानगरपालिका-३ चटकपुरमा गौरीशङ्कर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहितका चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वेदप्रकाश जोशीले दार्चुलाको नौगाड गाउँपालिका-२ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका-२ का ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरिएको बताए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको जोशीले बताए ।

उनीहरूको साथबाट ११ किलो ९०० ग्राम चरेश, १ थान डिजिटल काँटा समेत बरामद गरिएको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:January 31, 2023