६ महिनामा सवारी दुर्घटनामा २८१ ले ज्यान गुमाए

  Sampatti News Online

January 31, 2023

मधेस प्रदेश । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रतिवेदनअनुसार ६ महिनामा यो प्रदेशमा २८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। 

प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९/८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्यांक देखाएको हो।

गत साउन १ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन्। 

यी घटनामा चार हजार तीन सय ७१  घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद भण्डारीले बताए। बारामा मात्रै सडक दुर्घटनाका घटनामा ६ महिनाभित्र ६४ जनाको मृत्यु भएको छ।

पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ। गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३/३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ।

दिनहुँ बढ्दै गएका सवारी साधनको चाप  र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ। 

मानवीय क्षतिका घटना मोटरसाइकल दुर्घटनामा बढी भएका छन्। तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने हुँदा यो साधनको दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ।

प्रदेशभित्र आव २०७६/७७ मा एक हजार तीन सय ४०, २०७७/७८ मा तीन हजार नौ सय ८३ र  २०७८/७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए। ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्यांक छ। 

प्रकाशित मिति:January 31, 2023