पल शाह आज रिहा हुँदै

  Sampatti News Online

February 27, 2023

काठमाडौँ । बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले हिजो सफाइ दिएको छ । उच्च अदालतले सफाइ दिएपछि पल आज रिहा हुने भएका हुन् ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले हिजो नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो ।

शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतको हिजोको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह अब कारागारमुक्त हुने उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए । उच्च अदालत पोखराले १५ दिन अगाडि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रकाशित मिति:February 27, 2023