विश्वासको मत पर्खंदै कांग्रेससहितको गठबन्धन

  Sampatti News Online

March 2, 2023

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितका दलहरू सरकारमा जान तयार भए पनि प्रधानमन्त्रीले लिने विश्वासको मतको पखाईमा छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै फागुन १३ मा बनेको कांग्रेससहितको आठ दलीय गठबन्धमा आवद्ध दलहरू सरकारमा जाने बाटो खुल्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भन्नुभयो– ‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुन्छ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिएको दुई÷तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने उहाँको भनाइ छ । गत पुस १० मा पाँच दलीय गठबन्धनका नेताहरूबीच कमजोरी हुँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित ७ दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले फेरि भत्काइएको दाबी गर्दै उहाँले भन्नुभयो–‘पार्टीको तर्फबाट अहिले नै को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइसकेको छैन । म आफू भने अब मन्त्री बन्दिनँ ।’

फागुन १७ देखि चैत्र ५ गतेसम्मका लागि राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन आचारसंहिता लागु भएसँगै सरकार पुनर्गठनको विषय केही समयका लागि टरेको हो । उक्त निर्वाचन आचारसंहितका हट्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने जनाउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले भन्नुभयो– ‘राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनको आचारसंहिता समेत लागू भइसकेको छ । यसले गर्दा पनि प्रधानमन्त्रीजीलाई सरकार पुनर्गठन गर्न चैत्र पहिलो हप्तासम्म कुर्नुपर्ने अवस्था आएको छ ।’
गत पुस १० मा एमालेसहितको सात दलीय गठबन्धनबाट बनेको वर्तमान सरकारमा सहभागी एमालेसहितका दलहरूले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने हुनुभएको छ ।

माओवादी केन्द्र भने सात दलीय सरकार गठनको बेलामा राष्ट्रपतिमा कुनै सहमति नभएको जनाएको छ । माओवादी नेता जनार्दन शर्माले भन्नुभयो–‘सात दलीय गठबन्धनको सरकार बनाउँदा मन्त्रालय भागबण्डामा सहमति गरेका हौं । तर, राष्ट्रपतिमा कुनै सहमति भएको थिएन । एमाले राष्ट्रिय सहमतिको बाधक बनेर निस्किएको छ ।’ सरकारलाई संसद्का सबै दलहरूले विश्वासको मत दिएकाले उनीहरूलाई समेत सँगै लैजान राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न खोज्दा एमाले नमानेर गठबन्धनबाट बाहिरिएको शर्माले बताउनुभयो । राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मैदान हुनुहुन्छ । राष्ट्रपति निर्वाचनकै विषयलाई लिएर नयाँ समीकरण बनेपछि एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्ड अहिले आठ दलीय गठबन्धनको प्रधानमन्त्रीमा परिणत हुनुभएको छ ।

वर्तमान प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल कांग्रेससहितको विश्वास पाएकाले संसद्मा बहुमत कायमै छ । यद्यपि, सरकार समर्थक दलहरूले विश्वासको मत फिर्ता लिइसकेपछि आफ्नो पक्षमा बहुमत कायमै छ भन्नका लागि पनि पुनः विश्वासको मत लिने राजनीतिक अभ्यास रहीआएको संविधानविद् काशीराज दाहालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत दिइसकेपछि सरकारमाथि अविश्वासको प्रस्ताव राख्न पाईंदैन । ‘तर, दलहरूले विश्वासको मत फिर्ता लिने पाउने व्यवस्था छ । यो अवस्थामा सरकार अल्पमत परेको भन्ने प्रश्न उठ्न सक्छ । त्यसबेला प्रधानमन्त्रीले पुनः विश्वासको मत लिएर सार्वभौम संसद्मा बहुमत छ भन्ने विश्वास दिलाउनुपर्छ ।’ संसद्मा सरकारले विश्वास गुमाइसकेको भन्ने प्रश्न उठ्यो भने त्यसलाई गणितमा बहुमत देखाउनका लागि प्रधानमन्त्रीले विश्वासको मत लिने चलन रहेको उहाँको भनाइ छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्ड राजनीतिक बेइमानी र अस्थिरताको जड भएको आरोप लगाउँदै एमालेका नेता शेरबहादुर तामाङले प्रचण्डको प्रधानमन्त्री पदसमेत लामो समय नरहने ठोकुवा गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘सडकमा पुगेका प्रचण्डलाई एमालेले बोकेर प्रधानमन्त्री बनायो । अहिले उहाँले राजनीतिक बेइमानीका साथ देशमा अस्थिरताको बीउ रोप्नुभएको छ । उहाँको प्रधानमन्त्री पद पनि लामो समय रहँदैन ।’ आम निर्वाचनपछि नयाँ सरकार गठनका लागि तत्कालीन पाँच दलीय गठबन्धनको छलफल चलिरहेको बेला माओवादी अध्यक्ष प्रचण्डले एक्कासि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर नयाँ समीकरण गर्नुभएको थियो । त्यसबेला राष्ट्रपति र सभामुख एमालेलाई र प्रधानमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएपति प्रचण्डबाट धोका भएको उहाँको आरोप छ ।

प्रकाशित मिति:March 2, 2023