तीन मन्त्री र एक राज्यमन्त्री पाउँछौं : शेखर–गगन

  Sampatti News Online

April 13, 2023

काठमाडाै‌ । नेपाली कांग्रेसको संस्थापनइतरका नेता डा. शेखर कोइराला र पार्टी महामन्त्री गगन थापाले आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका छन् । नेपाली कांग्रेसले आन्तरिक किचलोका कारण सरकारमा पठाउने मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको छ।

गत चैत १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्दा कांग्रेसले ४ जनालाई मात्रै मन्त्री बनाएको थियो।

उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई ८ मन्त्रालय दिने सहमति सत्ता गठबन्धनभित्र भएको थियो। आफूले पाएको ८ मन्त्रालयमा पनि कांग्रेसले मन्त्री पठाउन सकेको थिएन। 

सभापति शेरबहादुर देउवाले आफू पक्षका ४ जनालाई मात्रै मन्त्री सिफारिस गरेका थिए। नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले मन्त्रीको नाम नै दिन मानेका थिएनन्।

कम्तीमा ३ मन्त्री आफूहरूले छान्न पाउनुपर्ने कोइराला-थापा समूहले सभापति देउवासँग माग गरेका थिए। ३ जना मन्त्री नपाएसम्म नाम नै नदिने अडानमा उनीहरू थिए।

सभापति देउवाले ३ मन्त्री र एक राज्यमन्त्री छान्न संस्थापनइतर समूहलाई आग्रह गरेका छन्।

बिहीबार बिहान बालुवाटारस्थित नेता कोइरालाको सचिवालयमा संस्थापनइतर समूहको बैठक बसेको थियो। केन्द्रीय कार्यसम्पादनले तय गरेअनुसार मापदण्डमा केन्द्रित भई मन्त्री छान्ने सहमति बैठकमा भएको छ।

‘पार्टीले ८ मन्त्रालय पाउँदा कम्तीमा ३ मन्त्रालय संस्थापनइतरलाई दिनुपर्छ भन्ने हाम्रो अडान हो। जनमत पार्टी सरकारमा नजाने देखिएकोले अब कांग्रेसले ९ मन्त्री र एक राज्यमन्त्री पाउने अवस्था बनेको छ,’ ती सांसदले भने, ‘३ मन्त्री र एक राज्यमन्त्री हामीले छानेर सभापतिलाई नाम दिन्छौं।’

जनमत पार्टीले गत चैत १९ मै मन्त्रालयमा असन्तुष्टि जनाउँदै सरकार छाडेको थियो। जनमतबाट अब्दुल खान खानेपानी मन्त्री थिए। जनमतले उद्योग मन्त्रालय मागेको थियो। उद्योग कांग्रेसले लिएपछि जनमत असन्तुष्ट छ। जनमतले सरकारले दिएको समर्थन भने फिर्ता लिएको छैन।

यसअघि गत चैत १७ मा कांग्रेसले ४ मन्त्री पठाएको थियो। सभापति देउवा पक्षबाट अझै २ मन्त्री छान्न बाँकी छ। सांसदहरू एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने तयारीमा सभापति देउवा छन्। देउवा पक्षबाट ६ जना मन्त्री हुँदैछन्।

साथै संस्थापनइतर समूह शेखर-गगन पक्षबाट ३ मन्त्री र एक राज्यमन्त्री हुनेछन्। उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सांसद डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य, राजेन्द्र बजगाई, मैना रावललगायत मन्त्रीका लागि आकांक्षी छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सांसद प्रदीप पौडेललाई पनि मन्त्री बनाउन सभापति देउवासँग माग गरेका थिए। 

‘नेता कोइराला र महामन्त्री थापाले आफ्नो समूहबाट निर्वाचित पदाधिकारीसँग छलफल गरेर मन्त्री र राज्यमन्त्रीको नाम टुंग्याउने कुरा भएको छ,’ बिहीबार बालुवाटारस्थित कोइराला सचिवालयमा भएको बैठकपछि एक सांसदले भने, ‘योग्यता र क्षमता हेरेर मन्त्री छान्ने कुरा भएको छ। मन्त्रीहरू एक वर्षमा फिर्ता बोलाउन पनि सकिने र राम्रो काम गरिरहे निरन्तरता पनि दिन सकिनेजस्ता विषयमा कुरा भएको छ।’

ती सांसदका अनुसार मन्त्री हुनेहरूको नाम छिट्टै बुझाउने तयारी छ। ‘उपनिर्वाचनसम्म नकुर्ने कुरा भएको छ,’ उनले भने, ‘केही दिनमै मन्त्रीका नाम टुंग्याइन्छ।’

प्रकाशित मिति:April 13, 2023