गठबन्धनका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न बारा जाँदै

  Sampatti News Online

April 20, 2023

काठमाडौँ । बारा–२ मा हुने उपनिर्वाचनका लागि तय गरिएको चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ दलका शीर्ष नेताहरू बारा जाने भएका छन् ।

कांग्रेसका नेता रमेश लेखकका अनुसार बाराको गढीमाई मन्दिरको प्राङ्गणमा हुने चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बारा जाने कार्यक्रम छ ।

चुनावी सभाको तयारी पूरा भइसकेकाले गठबन्धन दलका सबै शीर्ष नेताहरूले गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन उक्त क्षेत्रमा पुग्ने लेखकले बताउनुभयो ।

चुनावी सभालाई जसपाका अध्यक्ष तथा उम्मेदवार उपेन्द्र यादवसहित पाँचवटै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । वर्तमान सत्ता गठबन्धन दलहरूले तीनवटै निर्वाचन क्षेत्रमा उठाइएका गठबन्धनका उम्मेदवारलाई जिताउन विज्ञप्तिमार्फत पनि सबैलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति:April 20, 2023