रुवान्डामा बाढीले १०९ मानिसको मृत्यु

  Sampatti News Online

May 5, 2023

एजेन्सी । उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी कम्तीमा १०९ जनाको मृत्यु भएको छ । रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी (आरबीए) ले स्थानीय अधिकारीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै बुधबार यो संख्या बाहिर ल्याएको हो । मङ्गलबार राति परेको वर्षाले उत्तरी र पश्चिमी प्रान्तमा विपत्ति निम्त्याएको आरबीएले जनाएको छ ।

हाल यी प्रान्तहरूको प्रशासनले प्रकाशित गरेको अस्थायी तथ्याङ्क अनुसार १०९ जनालाई मृत घोषित गरिएको छ । बाढीको पानी अझै बढिरहेकोले थप मानिसको ज्यान जोखिममा परेको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु भएको र बाढीले घर तथा पूर्वाधार बगाएको र सडक बन्द भएको जनाइएको छ ।

’वर्षापछि आएको बाढीले गर्दा ठाउँठाउँमा ठूला पहिरा गएका, रूखहरू ढलेका र सडक पुरिएका छन् । बाढीले बगानहरू पनि बगेका छन् । हामीले ठूलो समस्याको सामना गर्नुपरेको छ’, उत्तरी प्रान्तकी एक बाढीपिडित महिलाले आरबीएसँग भनिन् ।

प्रकाशित मिति:May 5, 2023