नेप्सेमा दोहोरो अंकको गिरावट, बजेटको अघिल्लो दिन शेयर बजारमा देखिएन उत्साह

  Sampatti News Online

May 28, 2023

काठमाडौं । बजेटको पूर्वसन्ध्या नेप्से परिसूचक घटेर बन्द भएको छ। कारोबार अवधिको तीन घण्टासम्म सकारात्मक रहेको नेप्से, सोपछिको समयमा भने घट्न थालेको हो। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोली सोमबार ल्याउँदैछ । बजेट आउने अघिल्लो दिन आज आइतबारको शेयर कारोबारमा भने उत्साह देखिएको छैन ।     

साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको हो । आज नेप्से १७.३८ अंकले घटेर एक हजार ९ सय ४१ दशमलब ७४ विन्दुमा बन्द भएको हो ।      

नेप्सेमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९३.८० रुपैयाँ पुगेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६५३.३० रुपैयाँ पुगेको छ । यसका साथै आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।      

नेप्सेका अनुसार हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको हो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका विका सबैंक, वित्त, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:May 28, 2023