कुशल प्रशासक प्रजिअ उपाध्यायको उदाहरणीय कार्य

  Sampatti News Online

May 30, 2023

अशक्तलाई घरमै पुगी नागरिकता वितरण

काठमाडौँ । सामान्यतया प्रमुख जिल्ला अधिकारीलाई सेवाग्रहीले कार्यालयमै पुगेर पनि सजिलै भेट्न गाह्रो हुन्छ । तर काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने सेवाग्राहीको घरमै गएर एक अशक्त व्यक्तिलाई नागरिकता प्रमाणपत्र वितरण गरेका छन् ।
काठमाडौँ महानगरपालिका–६ स्थित गौरीघाट नयाँबस्तीमा गएर प्रजिअले २० वर्षीया स्वेता ढकाललाई नागरिकता वितरण गरेका हुन् । स्वेता पूर्ण रुपमा अशक्त छिन् । प्रजिअ उपाध्यायको यो कार्य अन्य कर्मचारीका लागि उदाहरणीय छ । प्रमुख जिल्ला अधिकारी ढकाल जुन जुन कार्यालयमा कार्यरत रहे,त्यहाँ नमूना काम गरेर देखाएका छन् । विगतमा ललितपुरको प्रजिअका रुपमा उनले उदाहरणीय कार्य गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँको नेतृत्व उपाध्यायले सम्हालेपछि कार्यालयको सेवाप्रवाहमा आमूल परिवर्तन भएको छ । सेवाग्रहीलाई टाइम कार्ड उपलब्ध गराउने, सार्वजनिक विदाका दिन सेवा उपलब्ध गराउने जस्ता अनुकरणीय काम उनले गरेका छन् । सार्वजनिक विदाको दिनपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणको सेवा दिइरहेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५० वटा नागरिकता, १५० वटा पासपोर्ट र २ सय वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०८० वैशाख १ बाट बिदाको दिनमा पनि कार्यालयबाट सेवा प्रवाह शुरु गरिएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो ।

को हुन् प्रजिअ उपाध्याय ?

नेपाल सरकारको सहसचिव पदमा कार्यरत उपाध्याय एक मृदुभाषी,सरल,सहज ,इमान्दार,प्रतिभाशाली कर्मचारी हुन् । एउटा कुशल प्रशासकमा हुनुपर्ने सबै गुण छन् उपाध्यायमा । उनको कार्यकुशलताबाट सेवाग्राहीमात्र होइन कार्यालयका अन्य कर्मचारी पनि उत्तिकै प्रभावित हुन्छन् ।

उनले निःस्वार्थ ढंगले नियमानुसार पाउने तलबमात्र लिएर देश र नागरिकको सेवा गरिरहेका छन् । आफू कार्यरत कार्यालयमा उनी कार्यालय समयका अतिरिक्त सार्वजनिक विदाका दिनमा पनि काममा व्यस्त रहन्छन् । कार्यसम्पादनका क्रममा पेशागत निष्ठा, नियमितता, मितव्ययिता र कार्यदक्षताको राम्रो ख्याल राख्छन् । प्रमुख जिल्ला अधिकारीको पदलाई उनले जागिर होइन,जिल्लाको सेवा गर्ने अवसरका रुपमा लिएका छन् । आफ्नो जिम्मेवारीप्रति उनमा समर्पणको भाव छ । कामको चापका बीच पनि प्रसन्न रहनु, प्रतिकूल परिस्थितिमा नआत्तिनु र स्वविवेका आधारमा निर्णय लिनु उनका विशेषता हुन् ।

उपाध्याय एक प्रखर तार्किक बौद्धिक क्षमतायुक्त प्रशासक हुन् । गृह प्रशासनमा लामो अनुभव भएका उपाध्यायलाई निजामती वृत्तमा भावी गृहसचिवका रुपमा समेत हेरिन्छ । उनी पेशागत निष्ठा, मर्यादा र आचारसंहिताको पूर्ण परिपालना गर्दै नियममा अडिग रहने प्रशासक हुन् । उपाध्यायले कार्यालयका आगन्तुक, जनप्रतिनिधि र कर्मचारीलाई उत्तिकै सम्मानपूर्वक व्यवहार गर्छन । उनको हृदय र मनबीच समानता छ । उनको बोली जत्ति मीठो छ, सेवाग्राहीप्रतिको व्यवहार पनि त्यत्तिकै राम्रो छ । निजामती सेवाको उच्च पदमा पुगेपनि उनमा कुनै दम्भ,अहंकारको भाव छैन । शालीन हाउभाउ र भव्य व्यक्तित्वका धनी उपाध्यायको आदर्श ‘सादा जीवन उच्च विचार’हो ।

प्रकाशित मिति:May 30, 2023