बाला चतुर्दशीलाई लक्षित गरेर मेलम्चीको ४ करोड लिटर पानी बागमतीमा

  Sampatti News Online

November 28, 2024

काठमाण्डू, शनिबार परेको बाला चतुर्दशी पर्वलाई लक्षित गरेर बागमती नदीमा बिहीबारदेखि चारकरोड लिटर पानी छाडिएको छ।

खानेपानीमन्त्रीले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रलाई मेलम्चीको पानी वाग्मती नदीमा छाड्न निर्देशन दिएपछि केन्द्रले बागमतीमा मेलम्चीको पानी छाडेको हो।

मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई बाला चतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्य कार्य गर्न पुग्नेगरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले नदी प्रवाहमा सहयोग गर्न केन्द्रको पानी वाग्मतीमा छाडिएको बताए।बिहीबारदेखि करिब चार करोड लिटर पानी वाग्मतीमा छाडेको जानकारी उनले दिए।

यस वर्ष पशुपति क्षेत्र विकास कोषले शुक्रबार बाला चतुर्दशी पर्वका अवसरमा कैलाश क्षेत्रमा मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको थियो।

बाला चतुर्दशीको अवसरमा आज त्रयोदशीको साँझ पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र भोलि (शनिबार) बिहान सत्विज छर्ने गरिन्छ।

प्रकाशित मिति:November 28, 2024